सर्लाही, ११ भदाै । वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझ ६ बजेसम्म ९३ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन् । पछिल्लो परीक्षण रिपोर्ट अनुसार एक सय १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर १९९ जना बिरामी उपचाररत छन् । वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी नारायणी अस्पतालमा १०७, नेसनल मेडिकल कलेजमा १८, तराई अस्पतालमा ३७ र वीरगञ्ज हेल्थकेयरमा १९ जना बिरामी उपचाररत छन् ।

सर्वोत्तम अस्पतालमा ७, एडभान्स मेडिकेयर अस्पतालमा ३, प्रभु अस्पतालमा १, निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २ र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी उपचाररत छन् ।

अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको संख्या चार सय २२ पुगेको छ । जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज हुँदा एक सय ९९ जना उपचाररत छन् ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८, नेसनलमेडिकल कलेजमा १५, भवानी अस्पताल, वीरगञ्ज हेल्थ्यकेयर अस्पताल, मंगलम प्याथोलोजीमा ३/३, अलि अर्थो अस्पताल र एडभान्स मेडिकेयर अस्पतालमा २/२, सर्वोत्तम अस्पताल, नारायणी सेन्ट्रल अस्पताल, नेपाल इण्डो अस्पताल, निलकण्ठ अस्पताल र बयोधा अस्पतालमा एकएक जना झाडापखाला लागेर भर्ना भएका बिरामीमा हैजा पुष्टि भएको छ ।

विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालय बन्द गरेको छ । वीरगञ्जमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएको र त्यसको रोकथाम र नियन्त्रणमा जुटेको महानगरपालिकाले विद्यालय थप तीन दिनका लागि बन्द गरेको हो । यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएका विद्यालय मङ्गलबार हरितालिका तीज पर्वको सार्वजनिक बिदाका कारण बन्द थिए ।

वीरगञ्ज महानगरपालिकाले हैजाको संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा पानीको नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका वीरगञ्जमा उपचाररत बिरामीको दिसाको कुल १० नमुनामध्ये ८ नमुनामा हैजाको संक्रमण पुष्टि भएको छ। बाँकी दुई नुमनाको रिपोर्ट भने बुधबार आउनेछ ।

प्रयोगशालामा गरिएको कल्चर परीक्षणमा ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा हैजा फैलिरहेको संकेत गरेको उहाँले बताउनुभयो ।

उता महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँका अनुसार महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि सहरका नाला, पोखरी तथा पानी जम्ने स्थानमा औषधि छर्ने अभियान बुधबारदेखि सुरु गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *