सर्लाही, १२ भदाै । नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।
यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ । नेपालले यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्नेछ, जसले ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउने मन्त्री खड्काले बताएका छन् ।
यसैबीच सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ ल्याएर २०३५ सम्मका लागि स्पष्ट लक्ष्य तय गरेको छ । सो लक्ष्यअनुसार, २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना छ ।
भारतलाई १० हजार मेगावाट र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको मन्त्री खड्काले जानकारी दिए । मन्त्री खड्काले भने, ‘सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धतामार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातमा क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ ।’
नेपालको ऊर्जा निर्यातमा भएको यो नयाँ उपलब्धिलाई अर्थतन्त्रका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।