सर्लाही, १२ भदाै । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो ।

चोरी भएको ट्रयाक्टर दुई दिनपछि, साउन १० गते, सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–११ मा सडक छेउको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानलाई अगाडि बढाउँदै जाँदा प्रहरीले करिब एक महिनापछि ट्रयाक्टर चोरीमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्की जनकपुर टुडे संग कुरा गर्दै उनीहरूलाई चोरीमा संलग्न रहेको ठहर गरी थप अनुसन्धान भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *