सर्लाही, १३ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोक नजिकै लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ भने एक जना फरार रहेका छन् ।

हिजाे विहिबार दिउँसो करिब १२ बजेको समयमा प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारीको कमाण्डमा ७ जनाको टोलीले चेकजाँच गर्ने क्रममा पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा शंका लागी रोक्न खोज्दा सवारीमा रहेका दुई जनाले झोला र मोटरसाइकल फालेर भागेका थिए ।

प्रहरी टोलीले तत्कालै पिछा गर्दा सर्लाहीको लालबन्दी नगरपालिका–१४, मिटारमा बसोबास गर्ने हिरा ब्लोनका २० वर्षीय छोरा सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भएको हो । अर्का फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फालिएका दुईवटा झोलामा रातो प्लास्टिकले बेरेको अवस्थामा कालो रंगका झोलाभित्र ५–५ के.जी. गरी जम्मा २५ के.जि. गाँजा फेला परेको छ । बरामद सामग्री, मोटरसाइकल र नियन्त्रणमा लिइएको व्यक्ति जिल्ला अदालत सर्लाहीबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *