सर्लाही, १४ भदाै । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् ।

हालै भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली भूमि लिपुकलेकलाई आफूहरू दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेका छन् । सैबीच प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्नासाथ मेयर बालेनले सामाजिक सञ्जालमार्फत चीन सरकारलाई लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाइदिन अनुरोध गरेका हुन् ।

चीन भ्रमणको शुभकामना दिँदै मेयर बालेनले लेखेका छन्, ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला । अल द बेस्ट। हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *