सर्लाही, १४ भदाै । गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन् । 

त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीका विषयमा छलफल र समन्वय गर्न गृहमन्त्री वीरगन्ज जाने भएका हुन् । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगन्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए । 

वीरगन्जमा हैजा फैलिए पनि अहिलेसम्म त्यसको कारण पत्ता लाग्न भने सकेको छैन ।

गृह मन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

वीरगन्ज जाने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजापीडित बिरामीको उपचार लगायतमा सहजीकरण गर्नेछ ।

यही भदौ ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा नियनत्रणका साथै बिरामीको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो ।

बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए ।

वीरगन्जमा एक सातादेखि फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्ज महानगरपालिकामा हैजाका कारण ६ सयभन्दा बढी बिरामी परेका छन् । 

हैजा संक्रमणले वीरगन्ज महानगरपालिका अस्तव्यस्त बनेको छ । लगातार पातलो दिसा हुने, बान्ता आउने, पेट दुख्ने, मिर्गौलामा समस्या देखिने र अर्धचेत हुने समस्या लिएर दैनिक ५० जना बिरामी नारायणी अस्पताल पुग्ने गरेका छन् । 

हैजा संक्रमणका कारण नारायणी अस्पताल बिरामीले भरिभराउ भएको छ। शय्या भरिएपछि भुइँमा राखेर उपचार गराउनुपरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *