सर्लाही, १४ भदाै । सहरबासीहरू मोबाइल फोनको लतमा फसेर दिनभर फोनको स्क्रिनमा झुण्डिन थालेपछि जापानको टोयोआके सहरले नयाँ नियम लागू गर्ने भएको छ ।

आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ विधयेकको मस्यौदा तयार पारेको छ, जस अनुसार सहरबासीले आफ्नो काम र विद्यालय बाहिरको समयमा अधिकतम २ घण्टासम्म मात्रै मोबाइल फोन चलाउन पाउनेछन् ।

यद्यपि उक्त नियम उल्लंघन गर्नेलाई सजायको कुनै प्रावधान भने कानूनमा राखिएको छैन । नयाँ कानून अन्तरगत नगर सरकारले नागरिकहरुलाई आफ्नो स्क्रिन टाइम दैनिक २ घण्टामा सीमित पार्न आग्रह गर्नेछ ।

मस्यौदा विधयेक अनुसार उक्त स्क्रिन टाइमको सीमा सबै सहरबासीका लागि लागू हुने भएपनि बाध्यकारी भने छैन र सीमा उल्लंघनमा जरिवानाको प्रावधान पनि राखिएको छैन ।

शुक्रबार जारी गरेको विज्ञप्तिमा टोयोआकेका मेयर मासाफुमी कोकीले भनेका छन् : यो प्रस्तावको उद्देश्य मोबाइल फोनको अत्यधिक प्रयोगलाई रोक्नु हो, जसले अनिद्रा लगायतका शारीरिक तथा मानिसक स्वास्थ्य समस्या निम्त्याएको छ ।

उक्त कानूनमा प्राथमिक विद्यालयका जाने उमेरका बालबालिकाहरुलाई रातको ९ बजेपछि फोन हेर्न नदिन सिफारिस गरिएको छ भने माध्यामिक विद्यालयका विद्यार्थी र त्यसभन्दा माथिकालाई राति १० बजेपछि फोन नचलाउन अनुरोध गरिएको छ ।

तर उक्त प्रस्तावित कानून प्रारम्भमै आलोचनाको सिकार भएको छ । धेरैले त्यस्तो कानूनलाई अवास्तविक भन्दै दिनमा केवल २ घण्टामात्रै फोन चलाउने कुरा असम्भव रहेको बताएका छन् । एकजना एक्स प्रायेगकर्ताले लेखेका छन्: दुई घण्टामा त म मेरो फोनमा किताब पढ्न वा मुभी हेर्न पनि भ्याउँदिनँ ।

स्मार्टफोन प्रयोगको सीमाको विषय सरकारले नियम कानूनबाट तोक्नेभन्दा हरेक परिवारले आफ्नो सहजता र फाइदाका लागि गर्ने निर्णय भएको धेरैको मत छ ।

यस्तो आलोचनापछि मेयर मासाफुमीले विधेयकको बारेमा प्रष्ट पार्दै दुई घण्टा स्मार्टफोन प्रयोगको सीमा बाध्यकारी नभएको भन्दै नयाँ कानूनले स्मार्टफोन उपयोगी तथा जीवनको अभिन्न हिस्सा भएको कुरालाई समेत मनन गरेको बताएका छन् ।

यो कानून नगरसभामा आगामी हप्ता पेस हुनेछ र पारित भएमा आगामी अक्टोबरदेखि लागू हुने बताइएको छ ।

स्मरण रहोस् सन् २०२० मा जापानको कागावा प्रान्तीय सरकारले डिजिटल ग्याजेट प्रयोगको सीमा तोक्दै नियम लागू गरेको थियो । जसमा बालबालिकाका लागि दैनिक १ घण्टा तथा बिदाको दिनमा ९० मिनेट मात्रै गेमिङ गर्न पाउने नियम थियो । साथै १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई रातको ९ बजेपछि तथा १५ देखि १८ वर्ष उमेरका लागि रातको १० बजेपछि स्मार्टफोन प्रयोगमा बन्देज लगाउन सुझाव दिएको थियो ।

जपानमा एक व्यक्तिले औषतमा दैनिक ५ घण्टा स्मार्टफोनमा बिताउने गरेको त्यहाँको बाल तथा परिवार एजेन्सीले मार्च महिनामा प्रकाशित गरेको रिपोर्टले देखाएको छ ।

जापान टाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *