सर्लाही, १४ भदाै । धनुषामा यही असोज २ र ३ गते नेपाल सर्प महोत्सव–२०२५ आयोजना हुने भएको छ ।

मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त पहलमा हुने महोत्सव मिथिला बिहारी नगरपालिका–२ स्थित पुरनदाहामा हुने भएको छ । मिथिला वाइल्डलाइफ ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले सर्पको जैविक, धार्मिक, सामाजिक र पारिस्थितिक महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागेको जानकारी दिए ।

यसपटक आयोजना हुन लागेको महोत्सवमा स्थानीय समुदाय, विद्यार्थी, वैज्ञानिक, वातावरणविद्, कलाकार तथा सरोकारवाला निकायहरूको व्यापक सहभागिता रहने उनको भनाइ छ ।

महोत्सवमा सर्प र मानवबीचको सहअस्तित्व, संरक्षणमार्फत भविष्य सुरक्षित गर्ने उपाय तथा सर्पसम्बन्धी विभिन्न मिथक र भ्रमबारे वैज्ञानिक तथ्यहरू प्रस्तुत गरिने उनले बताए ।

यसका साथै, सर्प संरक्षणसँग सम्बन्धित प्रदर्शनी, छलफल, अन्तक्र्रिया तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष मण्डलले बताए । उनले मधेश प्रदेशमा सर्पदंशका कारण हरेक वर्ष ठूलो संख्यामा मानिस प्रभावित हुने तथ्यांक रहेकाले महोत्सव समुदायमा जागरण ल्याउन महत्वपूर्ण हुने बताए ।

अध्यक्ष मण्डलले भने, ‘सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हुन् । तिनीहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम गर्न ठूलो भूमिका खेल्छ ।’ ‘सर्पको महत्व बुझौँ, सह–अस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूलनाराका साथ आयोजना हुने यस नेपाल सर्प महोत्सवमा सहभागी हुन अपील समेत उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *