सर्लाही । के तपाईँलाई बारम्बार ढाड दुख्ने, जोर्नीहरूमा अकडिएको वा थकित भएको महसुस हुन्छ ? यी लक्षणहरू तपाईँको हड्डी कमजोर भएको सङ्केत हुन सक्छन् ।
हड्डीहरू हाम्रो शरीरको आधार हुन् । यसले हामीलाई आकार दिनुको साथै हिँड्न, उठ्न, बस्न र दैनिक काम गर्न पनि मद्दत गर्छन्। तर, धेरै पुरुषले जानेर वा नजानेर यस्ता बानी अपनाउँछन्, जसले बिस्तारै हड्डी कमजोर बनाइरहेका हुन्छन् ।
व्यस्त जीवनशैलीमा हामी प्रायः आफ्नो स्वास्थ्य, विशेष गरी हड्डीको स्वास्थ्यलाई बेवास्ता गर्छौँ । समस्या गम्भीर नहुन्जेल हामीलाई यसको जानकारी नै हुँदैन । यहाँ हामी पुरुषको हड्डीलाई हानि पुर्याउने सामान्य बानीहरू र यी गल्तीबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ ।
हड्डी कमजोर हुनुका कारणहरू :
- क्याल्सियम र भिटामिन डीको कमी : हड्डी बलियो बनाउन क्याल्सियम र भिटामिन डी धेरै महत्त्वपूर्ण छन् । क्याल्सियम हड्डीको मुख्य कम्पोनेन्ट हो भने भिटामिन डीले शरीरमा क्याल्सियम अवशोषणमा मद्दत गर्छ । यदि तपाईँ घामबाट टाढा रहनुहुन्छ वा क्याल्सियमयुक्त आहार खानुहुन्न भने, तपाईँको हड्डी बिस्तारै कमजोर हुन सक्छ ।
- जंक फुड र कोल्ड ड्रिंक्सको अत्यधिक सेवन : नुन, चिनी र फस्फोरिक एसिड (जस्तै कोल्ड ड्रिंक्स) भएको खानाले हड्डीबाट क्याल्सियम निकाल्न सक्छ । त्यस्तै, प्रशोधित खानामा पोषक तत्त्वको कमी हुन्छ । यसले शरीरमा अम्लीय वातावरण सिर्जना गर्छ, जसले हड्डीको घनत्व घटाउँछ ।
- धूम्रपान र मदिरा सेवन : धूम्रपान र अत्यधिक मदिराको सेवनले हड्डीको मजबुतीमा असर गर्छ । निकोटिनले हड्डी निर्माणको प्रक्रियालाई सुस्त पार्छ भने रक्सीले शरीरमा क्याल्सियमको स्तर घटाउन सक्छ ।
- शारीरिक गतिविधिको अभाव : यदि तपाईँ दिनभरि कुर्सीमा बस्नुहुन्छ र व्यायाम गर्नुहुन्न भने तपाईँको हड्डी कमजोर हुन सक्छ । तौल बोक्ने व्यायामले हड्डीलाई बलियो बनाउँछ । हिँड्ने, दौडने र योग जस्ता हल्का व्यायाम पनि फाइदाजनक हुन्छन् ।
निद्राको कमी र तनाव : निरन्तर तनाव र निद्राको कमीले शरीरमा हर्मोनको असन्तुलन निम्त्याउँछ, जसले हड्डीलाई असर गर्छ । निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । तनावले हड्डीलाई कमजोर बनाउने हर्मोन (जस्तै कोर्टिसोल) बढाउन सक्छ ।
हड्डी कमजोर हुन नदिन के गर्ने ?
- हरेक दिन १५-२० मिनेट घाममा बस्नुहोस् ।
- दूध, दही, चीज, बदाम जस्ता क्याल्सियमयुक्त आहार खानुहोस् ।
- नियमित रूपमा व्यायाम गर्नुहोस् ।
- धूम्रपान र मदिराबाट टाढा रहनुहोस् ।
- पर्याप्त मात्रामा सुत्नुहोस् र तनाव कम गर्नुहोस् ।
हड्डी कमजोर हुनु अचानक आइपर्ने समस्या होइन । यो बिस्तारै विकसित हुन्छ । समयमै ध्यान दिइएन भने, यसले भविष्यमा हिँड्न समेत कठिनाइ निम्त्याउन सक्छ । त्यसैले, माथि उल्लेख गरिएका कुनै पनि बानी तपाईँमा छन् भने, तिनीहरूलाई परिवर्तन गर्ने समय आएको छ ।