सर्लाही, १६ भदाै । पछिल्लो केही सातायता मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बारम्बार र अनियमित रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । दिनभरि पटक–पटक बत्ती जान थालेपछि जनजीवन प्रभावित भएको छ भने सेवाग्राहीहरु हैरान भएका छन् ।
नेपाल विद्युत प्राधिकरण, मलंगवा वितरण केन्द्रले मर्मतको नाममा विद्युत् अवरोधको सूचना दिने गरेको भए पनि अधिकांश कटौतीहरू पूर्वसूचना विना हुने गरेको स्थानीयको गुनासो छ । “मर्मतको लागि केही समय लाइन काट्नु सामान्य हो, तर जुनसुकै बेला लाइन काट्दा हामी समस्या भोग्न बाध्य हुन्छौं,” एक स्थानीय बासिन्दाले बताए ।
स्थानीय अनुसार, लाइन गएको समयमा वितरण केन्द्रमा फोन गर्दा फोन नउठ्ने वा उठे पनि ‘माथिबाटै काटिएको हो, हामीलाई जानकारी छैन’ भन्ने एउटै जवाफ आउने गरेको छ । यस्तो गैरजिम्मेवार व्यवहारप्रति सेवाग्राही असन्तुष्ट छन् ।
मलंगवाबाट पूर्व र पश्चिमका विभिन्न गाउँ र नगर क्षेत्रमा समेत यो समस्या गहिरिँदै गएको छ । “केही साता अघि ट्रान्सफरमर फेरेको भनिएको थियो, कहिले तार फेरिएको भनिन्छ, तर समस्या समाधान हुने छाँटकाँट छैन,” अर्का एक सेवाग्राहीको भनाइ छ ।
अनियमित विद्युत् आपूर्तिका कारण उद्योग व्यवसाय, विद्यार्थीको पठनपाठन, तथा घरायसी काममा समेत असर परेको छ ।