सर्लाही, १६ भदाै । सर्लाहीको गोडैता क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित स्थानीयवासी, जनप्रतिनिधि र सर्वपक्षीय संघर्ष समितिले सोमबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् ।
बलरा नगरपालिकामा कार्यालय स्थापना गर्ने सरकारको निर्णयको विरोधमा पब्लिक मावि मलंगवा–२ बाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरूले “गोडैतामा प्रशासन, जनताको सहज पहुँचको ग्यारेन्टी !” जस्ता नारा लगाउँदै, प्रशासनिक सेवा पाँचवटै पालिकाका जनतालाई नजिकबाट उपलब्ध गराउन गोडैतामै कार्यालय आवश्यक भएको तर्क गरे ।
प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लाई ज्ञापनपत्र बुझाइएको छ । यसअघि पनि गृहमन्त्री रमेश लेखक वीरगन्ज आएका बेला संघर्ष समितिले सोही विषयमा ध्यानाकर्षण पत्र बुझाइसकेको थियो ।
सरकारले भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकबाट बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर सो निर्णय जनभावनाविपरीत रहेको भन्दै गोडैता, विष्णु, बलरा, रामनगर र धनकौल गरी पाँच पालिकाको केन्द्रमा पर्ने गोडैतामै कार्यालय स्थापना गर्नुपर्ने माग गरिएको हो ।
गोडैता उपयुक्त स्थान भएको तर्क गर्दै सर्वपक्षीय ध्यानाकर्षण पत्रमा प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह (क्षेत्र नं. ४ ‘क’), फकिरा महतो (क्षेत्र नं. ४ ‘ख’), गोडैता नगरपालिकाकी कार्यवाहक मेयर अञ्जना कुशवाहा, विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल राय, र धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहलगायतले हस्ताक्षर गरेका छन् ।
हाल पाँच पालिकाका स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सदरमुकाम मलंगवाको जिल्ला प्रशासन कार्यालयसम्म आउनु पर्ने बाध्यता छ । गोडैतामा कार्यालय स्थापना भएमा सेवाग्राहीहरूलाई सहजता हुने भन्दै प्रदर्शनकारीले सरकारसँग पुनर्विचार गर्न माग गरेका छन् ।