सर्लाही, १६ भदाै । पटक–पटक मन्त्री भइसकेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘फरक खालको विद्रोह’ सुरु गर्ने बताएका छन् । झन्डै ३५ वर्षदेखि विभिन्न दलमार्फत सक्रिय राजनीतिमा रहेका ६७ वर्षीय महतो अबको आन्दोलन शान्तिपूर्ण तर निर्णायक हुने दाबी गर्छन् ।
“अब हाम्रो अभियान भनेको फरक खालको विद्रोह हो,” उनले भने, “तपाईं अहिले नै बुझ्न सक्नुहुन्न हामी कस्तो आन्दोलन गर्छौं भनेर । तर आन्दोलन सुरु भएपछि मात्रै तपाईंलाई थाहा हुन्छ । सरकारलाई माग सम्बोधन गर्न बाध्य हुने गरी हामी शान्तिपूर्ण आन्दोलनमा उत्रनेछौं ।”
महतो २०४७ सालमा नेपाल सद्भावना पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । २०५६, २०६४, २०६५ र २०७४ मा सांसद बनेका उनले पटक–पटक मन्त्रीसमेत भइसकेका छन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
पूर्व लोसपा नेता महतोले अध्यक्ष महन्थ ठाकुरको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग्गिएर राष्ट्रिय मुक्ति पार्टी गठन गरेका हुन् । निर्वाचन आयोगमा दर्ता गराएको उक्त दलमार्फत उनले पहिचान पक्षधर, संघ–संस्था र जातीय संगठनहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
“हामीलाई सधैं ठूला दलहरूले हेप्दै आए,” उनले भने, “सत्ता लालसाले मधेशी दलहरू छिन्नभिन्न भए, तर अब मेरो बाटो फरक छ । पछाडि पारिएका, अधिकारबाट वञ्चित र पहिचान बनाउन नसकेका समुदायलाई समेटेर आवाज बुलन्द पार्ने मेरो उद्देश्य हो ।”
मधेसी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका महतो सद्भावना पार्टी विभाजनपछि आफ्नै समूह बनाउँदै आएका थिए । पछि राजपा नेपाल, संघीय समाजवादी फोरम र लोसपासम्म उनको राजनीतिक यात्रा पुगेको हो ।
नयाँ पार्टीमार्फत उनले उत्पीडित समुदायलाई एकताबद्ध गरी बहुल–राष्ट्रिय राज्य निर्माण गर्ने एजेन्डा अघि सारेका छन् । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सामाजिक, आर्थिक र सांस्कृतिक पुनःस्थापनाको लहर चलाई सहकारी अर्थतन्त्र प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने र २०८२ मा राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने निर्णयसमेत गरेको छ ।
यसैअनुसार पार्टीले भदौ ८ देखि असोज २२ गतेसम्म स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशन सिद्धान्तअनुसार संगठन विस्तार अभियान सञ्चालन गर्दै छ ।