सर्लाही । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सही समय र सही तरिकाले पानी पिएमा शरीरमा सकारात्मक परिवर्तन देखिने विज्ञहरू बताउँछन् ।
गर्मीमा शरीरमा पानीको कमी हुन नदिन दिनभरि २.५ देखि ३ लिटर पानी पिउनुपर्छ । तिर्खा लागिरहेमा वा पिसाबको रङ्ग गाढा भएमा शरीरमा पानीको कमी (डिहाइड्रेसन) भएको हुन सक्छ। पर्याप्त पानी पिउनु आवश्यक छ, तर पानी पिउने सही तरिका र समय पनि महत्त्वपूर्ण छ ।
- पानी पिउने सही समय :
१. बिहान खाली पेट : बिहान उठ्ने बित्तिकै खाली पेटमा एकदेखि दुई गिलास मनतातो पानी पिउनु फाइदाजनक हुन्छ । यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, मेटाबोलिजम बढाउँछ र पाचन क्रियालाई सक्रिय बनाउँछ ।
२. व्यायामअघि र पछि: कसरत गर्दा शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले, व्यायाम गर्नुअघि र पछि पानी पिउनु आवश्यक छ । यसले मांसपेशीको थकान कम गर्न र शरीरलाई ऊर्जा दिन मद्दत गर्छ ।
३. खाना खानुभन्दा ३० मिनेटअघि : खाना खाँदा वा खाना खानेबित्तिकै पानी पिउनुको सट्टा खाना खानुभन्दा आधा घण्टाअघि पानी पिउनु राम्रो मानिन्छ । यसले भोक नियन्त्रणमा राख्छ र पाचन प्रणालीलाई राम्ररी काम गर्न मद्दत गर्छ ।
४. सुत्नुभन्दा १ घण्टाअघि : राति सुत्नुभन्दा करिब एक घण्टाअघि पानी पिउँदा शरीरमा पानीको कमी हुन पाउँदैन । यसले हृदयको कार्यक्षमता सुधार्न पनि मद्दत गर्छ ।
- पानी पिउनुको गलत समय र तरिका :
खाना खाएको तुरुन्तै: खाना खाएको तुरुन्तै धेरै पानी पिउँदा पाचन रस पातलो हुन्छ, जसले गर्दा खाना राम्ररी पच्दैन । यसले ग्यास, अपच र तौल बढ्ने समस्या निम्त्याउन सक्छ ।
एकै पटकमा धेरै पानी : एकै पटकमा धेरै पानी पिउनु मिर्गौलाका लागि हानिकारक हुन सक्छ । यसले सोडियमको मात्रालाई असन्तुलित बनाउन सक्छ । त्यसैले, सधैँ बिस्तारै-बिस्तारै पानी पिउनुपर्छ ।
धेरै चिसो पानी : धेरै चिसो पानी पिउँदा पाचन क्रिया सुस्त हुन्छ र शरीरमा बोसो जम्ने सम्भावना बढ्छ । विशेष गरी, खाना खाएपछि चिसो पानी पिउनु राम्रो मानिँदैन ।