सर्लाही, १७ भदाै । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशमा बनेका ऐन–कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।
सोमबार जनकपुरधाममा इन्सेकले आयोजना गरेको ‘मधेश प्रदेशमा कानुन निर्माण र कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री लेखीले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै कानुन निर्माण भए पनि त्यसको कार्यान्वयन सन्तोषजनक नभएको उल्लेख गरे ।
“कानुन बनेर मात्र पर्याप्त हुँदैन, त्यसको कार्यान्वयन हुन जरुरी छ,” मन्त्री लेखीले भने, “यसका लागि समय–समयमा बहस छलफल आवश्यक पर्छ ।”
सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले देशमै मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै कानुन कार्यान्वयन चुनौतीपूर्ण हुने बताए। उनले संविधानले संशोधनको व्यवस्था गरेको भन्दै समयअनुसार कानुन संशोधन हुँदै जाने उल्लेख गरे ।
कार्यक्रममा जसपा नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले कानुन आफैं पूर्ण नहुने भएकाले समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले प्रदेशमा निर्माण भएका कानुनबारे कार्यपत्र प्रस्तुत गरे। अधिवक्ता राजकुमार महासेठले मानव अधिकार रक्षकको सुरक्षा सम्बन्धी विधेयकबारे प्रस्तुति दिए ।
कार्यक्रम जनमत पार्टीका महासचिव तथा पुर्वमन्त्री चन्दन सिंह,प्रदेश सांसद कंचन बिक्षा,रमिता प्रधान ,मानव अधिकारकर्मी बिनोद महरासमेत उपस्थिति रहेको थियो ।