सर्लाही, १७ भदाै । निजी विद्यालय सञ्चालकहरूले भोलि (बुधबार)देखि विद्यालय बन्द नगर्ने भएका छन् । यसअघि निजी विद्यालय सञ्चालक संस्थाहरूले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा असहमति जनाउँदै माग पूरा नभए भदौँ १८ गतेदेखि अनिश्चितकालकाे विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन),नेसनल प्याब्सन, हिसान,अपेन र एनएमएले भदौँ १२ गते संयुक्त चरणबद्ध आन्दोलन कार्यक्रम जारी गर्दै भदौँ १८ सम्ममा पनि माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए ।

तर,भोलिदेखि विद्यालय बन्द नगर्ने प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए । उनले भने,‘भोलिदेखि विद्यालय बन्द गर्ने भनेका थियौँ,तर नगर्ने भयौँ,निजी विद्यालयहरू खुल्नेछन् ।’ उनीहरूले हालपनि आन्दोलन भने जारी राखेका छन् ।

किन पछि हट्यो विद्यालय सञ्चालक ?

यी नै निजी विद्यालय सञ्चालक संस्थाहरूले भदौ ४ गते पनि पत्रकार सम्मेलन गर्दै भदौ ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए । तर, विद्यालय भने बन्द गर्न सकेनन्। पछि फेरी भदौँ १८ गतेदेखि विद्यालय बन्द गर्ने भनेर घोषणा गरे पनि यसबाट उनीहरू पछि हटेका छन् ।

किन विद्यालय बन्द गर्ने अडानबाट पछि हट्यो भन्ने प्रश्नमा प्याब्सनका अध्यक्ष अधिकारीले भने,‘पहिला हामीले शिक्षा विधेयक संसदबाट भदौँ १३,१४ गते नै पारित हुने भन्ने हल्ला चल्यो,त्यही भएर उक्त आन्दोलन घोषणा गरेका थियौँ,तर अहिले आएर भदौँ २५ गतेमात्रै संसदमा छलफल पारित गर्ने कुरा आयो,यस अवस्थामा विद्यालय बन्द गरेर केही हुने देखिएन,त्यही भएर भोलिदेखि विद्यालय बन्द नगर्ने भएका हौैँ,तर आन्दोलन चाही जारी नै राखेका छौँ ।’

उनका अनुसार सरकारसँग केही छलफल भने भइरहेको छ । तर,सहमति हुन सकेको छैन । उनले अबको आन्दोलन के कसरी गर्दै जाने भन्नेमा भोलि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *