सर्लाही, १८ भदाै ।  लालबन्दी बजारमा रहेको एग्रोभेट पसलहरूमा अनुगमन टोली पुग्दा पसल सञ्चालकहरू भागाभाग मच्चिएको थियाे । सरकारको अनुदानमा दिइने रासायनिक मलमा कालोबजारी भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन थालेको हो ।

लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनको नेतृत्वमा जनप्रतिनिधि, कृषि प्राविधिक, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले हिजो दिउँसो बजारमा अनुगमन गरेको थियो । सहकारी संस्थालाई डिलरको जिम्मेवारी दिइएको भए पनि त्यहाँ मल नपाईने र एग्रोभेट पसलहरूमा चर्को मूल्यमा कालोबजारीमार्फत बिक्री हुने गरेको किसानले गुनासो गर्दै आएका छन् ।

अनुगमन टोली आउँदै गरेको खबर पाउनेबित्तिकै धेरै एग्रोभेट पसल बन्द गरिएका थिए । उपप्रमुख पाख्रिनका अनुसार केवल तीनवटा पसल मात्र अनुगमन गर्न सकिएको थियो । तीमध्ये एभरेष्ट एग्रोभेट पसलबाट छ बोरा अनुदानको पोटास मल बरामद गरिएको लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए ।

वडाध्यक्ष कार्कीले अन्य पसल सञ्चालक भागेकाले थप छानबिन गर्न नसकिएको बताए । उनले अनुदानको मल सहुलियत दरमा सहकारीमार्फत उपलब्ध हुनुपर्ने भए पनि त्यो मल एग्रोभेटमा कालोबजारीमार्फत बढी मूल्यमा बिक्री हुनुले किसान मर्कामा परेको बताए ।

किसानहरूले सरकारबाट अनुदानमा प्राप्त मल डिलर सहकारीमा नपाइने तर निजी एग्रोभेटमा महँगोमा पाइने अवस्थाको विरोध गर्दै आएका छन् । उनीहरूको भनाइमा, सरकारले पर्याप्त मल उपलब्ध गराउन नसक्दा कालोबजारी मौलाएको हो ।

नगरपालिकाले भने यस्ता गतिविधिमाथि कडाइ गर्ने जनाएको छ। उपप्रमुख पाख्रिनले दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *