सर्लाही, १८ भदाै । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गाँजासहित ईश्वरपुर नगरपालिका – १२ घारीबथानका ३२ वर्षीय संजिव भुजेललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कार्की र ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सडक किनारमा शंकास्पद अवस्थामा बसिरहेका भुजेललाई चेकजाँच गर्दा सेतो रंगका तीन बोरा फेला पारेको थियो ।
प्रहरीका अनुसार बोरा परालले छोपेर लुकाइएको थियो । ती बोरामा ५५ किलो २२० ग्राम गाँजा भेटिएको हो। पक्राउ परेका भुजेललाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ ।
आज सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी भुजेललाई थुनामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय केशरगञ्जदेखि करिब १० किलोमिटर पूर्व – उत्तरको क्षेत्रमा भेटिएको हो ।