सर्लाही, १९ भदाै । अभिनेत्री सोनाक्षी सिन्हाले हालै केही ब्रान्डप्रति आक्रोश व्यक्त गरेकी छिन् । उनीहरूले अभिनेत्रीको अनुमतिबिना नै आफ्नो आधिकारिक वेबसाइटमा उनका तस्बिर प्रयोग गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन् । 

सोनाक्षीले आफ्ना तस्बिरहरू तत्काल हटाउन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएकी छन् । इन्स्टाग्राममा एक पोस्ट लेख्दै सोनाक्षीले भनेकी छिन्, ‘म प्रायः अनलाइन सपिङ गर्छु र मैले केही ब्रान्डको वेबसाइटमा अनुमतिबिना नै मेरा तस्बिरहरू देखेकी छु। जब कुनै कलाकारले तपाईँहरूको पहिरन वा गहना लगाउँछ, तब तपाईंहरूले ब्रान्डको क्रेडिट दिँदै पोस्ट गर्नुहुन्छ । तर तिनै तस्बिरलाई तपाईंको आधिकारिक वेबसाइटमा राख्नु चाहिँ धेरै भयो ।’

उनले अगाडि लेखेकी छिन्, ‘मेरो तस्बिरहरू हटाउनुहोस्, नत्र म सार्वजनिक रूपमा कारबाही गर्न थाल्छु । वा मलाई मेरो बिल कहाँ पठाउने हो, बताउनुहोस्। निर्णय तपाईंको ।’

सोनाक्षीको यो पोस्टलाई अभिनेत्री तब्बूले पनि रि-पोस्ट गर्दै ‘धन्यवाद सोनाक्षी, मेरो पनि यही सोच छ’ भनेर लेखेकी छिन् । यसमा सोनाक्षीले जवाफ दिँदै ‘मलाई थाहा थियो कि यो सोच्ने म एक्लो छैन’ भनेर लेखेकी थिइन् ।

सोनाक्षी सिन्हा यसै वर्ष जुलाईमा रिलिज भएको मिस्ट्री हरर फिल्म ‘निकिता रोय’ मा देखिएकी थिइन् । फिल्ममा उनीसँगै परेश रावल र अर्जुन रामपाल पनि मुख्य भूमिकामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *