सर्लाही, १९ भदाै । सर्लाहीको सदरमुकाम मलंगवामा मलंगवा जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ आगामी भाद्र २० र २१ गते आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिएको हो ।
मलंगवा नगरपािलका–८ स्थित होटल कुसुम पार्टी प्यालेसमा हुने यस भव्य सम्मेलनको मुख्य उद्देश्य युवा नेतृत्व विकास, व्यक्तित्व निखार र उद्यमशीलता प्रवर्द्धन रहेको आयोजकले बताएका छन् । सम्मेलनमा क्षेत्र “क” अन्तर्गतका ४६ शाखाका प्रतिनिधिहरुका साथै क्षेत्र ख, ग, र घ का पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष तथा जिल्लाभरिका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समेत गरी करिब १,००० भन्दा बढी सहभागी हुने अनुमान गरिएको छ ।
कार्यक्रम निर्देशक जेसी विभाष कुमार कर्णका अनुसार सम्मेलनले युवाहरूको सामाजिक नेतृत्व क्षमता र व्यावसायिक दक्षता विकासमा महत्वपूर्ण टेवा पुर्याउनेछ । उनले सम्मेलन संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिंदै, करिब ४७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएका छन् ।

पत्रकार सम्मेलन मलंगवाको प्रसिद्ध धार्मिक स्थल मलंग बाबा मन्दिर परिसरमा सम्पन्न भएको थियो । सो अवसरमा मलंगवा जेसिजका अध्यक्ष प्रवीण गुप्ताले सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन शाखा सक्रिय रहेको बताए ।
सम्मेलनको माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मलंगवाको राष्ट्रिय पहिचानलाई अझ उचो बनाउने उद्देश्य रहेको पनि आयोजकहरूले उल्लेख गरे । यसै सन्दर्भमा, मलंगवा जुनियर जेसिजका पूर्व अध्यक्ष जेसी प्रिन्स गुप्ताले भने, “मलंगवा जेसिजको सकारात्मक पहल तथा ऊर्जावान युवाहरूको सामूहिक प्रयासले यस सम्मेलनले सम्पूर्ण मलंगवाको सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।”
सम्मेलनको सफलताका लागि स्थानीय तह, व्यवसायी तथा नागरिक समाजको समेत उल्लेखनीय साथ रहेको आयोजकको भनाइ छ ।