सर्लाही । खाना पकाउँदै हुनुहुन्छ भने खाद्य पदार्थमा घिउ वा तेल कति हाल्ने ? यसमा ध्यान दिनै पर्छ ।
हाम्रो खानामा देखिने चिल्लो पदार्थको मात्रा कुल क्यालोरीको २० प्रतिशतभन्दा बढी हुनु हुँदैन । खानामा हुने चिल्लो पदार्थले आवश्यक पौष्टिक तत्त्व प्रदान गर्छ, खानालाई स्वादिलो बनाउँछ र बढी मात्रामा शक्ति प्रदान गर्दछ । तर हाम्रो खानामा चिल्लोको मात्रा धेरै भएमा मोटोपन बढाउँछ । मुटुरोग, मधुमेहजस्ता रोग बढाउने खतरा रहन्छ ।
नेपालमा सामान्यतः प्रयोग गरिने घिउ—तेलमा गाई, भैंसीको घिउ, वनस्पति घिउ—तोरीको तेल, भटमासको तेल, आदि हुन् । सबै वनस्पति तेलहरूमा शरीरलाई आवश्यक पर्ने तत्त्व हुन्छ जसले शरीरलाई स्वस्थ रहन मद्दत गर्दछ ।
चिल्लो पदार्थमा क्यालोरीलगायत अन्य फाइदाजनक वस्तुहरू हुने भएकाले खानामा यसको महत्त्व छ । चिल्लो पदार्थले खानालाई स्वादिलो र वास्नायुक्त बनाउनुको साथै अन्य पौष्टिक तत्त्वहरू जस्तै भिटामिन र खनिज तत्त्वहरू शरीरमा शोषण गर्ने कार्यमा पनि सघाउँछ । तर, धेरै मात्रामा चिल्लो पदार्थ उपभोग गर्नाले मोटोपन बढ्नुका साथसाथै मुटुरोग र मधुमेहको जोखिम बढाउँछ ।
बढ्दो उमेरका केटाकेटीलाई खानामा अधिक क्यालोरी चाहिन्छ । अन्नमात्र खानाले उनीहरूले पर्याप्त क्यालोरी पाउन सक्दैनन् । तसर्थ, बालबालिकाको खानामा पर्याप्त मात्रामा चिल्लो पदार्थ राख्नुपर्छ । विभिन्न खालका तेलको वैकल्पिक प्रयोग गर्न सकिन्छ ।
वनस्पति घिउमा स्याचुरेटेड फ्याट र ट्रान्सफ्याट एसिडको मात्रा ज्यादा हुन्छ । ट्रान्स फ्याट्टी एसिडको मात्रा कुल खानाको एक प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
चिल्लो पदार्थले चिल्लोमा घुलेर रहेका भिटामिनहरू (ए, डी, ई र के) लाई सोसेर राख्छ । धेरै शक्ति हुने चिल्लो पदार्थ खानामा हुनु त्यसबेला ठीक हुन्छ, जब अरू खानेकुरामा कम शक्ति हुन्छ ।
यद्यपि अधिक क्यालोरी, चिल्लो पदार्थ र कोलेस्टेरोल हुने खानाले रगतमा लिपिड (कोलेस्टेरोल र ट्राइग्लिसिराइड) को मात्रा बढाउँछ । यसबाट दम, मुटुको रोग, हृदयघात, क्यान्सरजस्ता रोगको खतरा बढ्ने हुन्छ ।
तसर्थ, शरीरलाई आवश्यक हुने शक्तिअनुसार मात्र सन्तुलित रूपमा चिल्लो पदार्थ खानुपर्छ । चिल्लो पदार्थ खाँदा भेजिटेबल फ्याट (अनस्याचुरेटेड) हुनुपर्छ, न कि स्याचुरेटेड फ्याट वा ट्रान्स फ्याट्टी एसिडमात्र ।