सर्लाही, २२ भदाै । जसपा नेपाल मधेश प्रदेशको प्रदेश अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि शुरु भएको छ । जसपा नेपालका मधेश प्रदेश कार्य समितिका अध्यक्ष बालकिशोर यादवले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा नगरे पनि उनले आन्तरिक तयारी थालेका छन् ।
यता मधेश प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका योगेन्द्र राय यादवले भने औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका योगेन्द्र राय यादवले मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यही भदौँ ३१ गतेदेखि असोज १ गतेसम्म हुने जसपा नेपालको मधेश प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नेता यादवले घोषणा गरेका छन् ।
देशमै सबभन्दा ठूलो जनाधार रहेको जसपा नेपालको मधेश प्रदेशको एकताको प्रथम अधिवेशन यही भदौँ ३१ गतेदेखि शुरु हुन लागेको छ । नयाँ नेतृत्व चयनका लागि जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको हुन लागेको प्रदेश अधिवेशनमा जसपा नेपालका समाजवादी युवा संघका पूर्वअध्यक्षसमेत रहेका पूर्वराज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि अहिले जसपा नेपालभित्र तरंग उत्पन्न भएको छ भने यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको लामोसमयसम्म स्वकीय सचिवदेखि सहयोगीसम्म भएर विगतमा काम गरिसकेका, मधेश प्रदेशको राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका, पार्टीको मधेश प्रदेशको राजनीतिमा बलियो पकड बनाउन सफल, जसपा नेपालको प्रदेश राजनीतिमा योगदान दिएका र विद्यार्थी जीवनदेखि नै मधेशलाई आधार बनाएर राजनीति गर्दै आएका योगेन्द्र राय यादव जसपा नेपालको मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीभित्र चर्चाको विषय बनेको छ ।
संगठन निर्माणमा विगतदेखि नै कठिन संघर्ष गरेका मेहनती योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले जसपा नेपाल मधेश प्रदेशको निवर्माचन निकै प्रतिस्पर्धात्मक रोचक हुने अनुमान गरिएको छ । उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । पूर्वराज्यमन्त्री योगेन्द्र राय यादवले जसपा नेपालको आधार क्षेत्र रहेको मधेश प्रदेशमा अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा रहनु परेकाले वर्तमान प्रदेश अध्यक्ष बालकिशोर यादव असफल भएकाले आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफू निर्वाचित भएमा पुनः प्रदेशमा जसपा नेपालको सरकार हुने ठोकुवा गरे । उनले मधेश प्रदेशको वर्तमान राजनीतिक मुद्दा, संगठन निर्माण, वैचारिक राजनीतिक स्पष्ट कार्यदिशालाई जनतामाझ लैजानमा अहिलेको नेतृत्व पूर्णतः असफल भएकाले आफूले ०८४ को मिसनलाई सफल बनाउनका लागि उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे ।
निर्वाचन लड्ने लक्ष्यका साथ उनले विगत केही महिनादेखि मधेश प्रदेशका आठवटै जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आएका छन् । मधेशको सबै जिल्लामा जसपा नेपालका शीर्ष नेता देखि लिएर प्रदेश र जिल्ला निर्वाचन क्षेत्रका अधिकांश नेता कार्यकर्ताहरुसंग भेटघाट गरी सघाउनका लागि सहयोग मागेको उनले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थितिमा जनकपुरधाममा भव्य समारोहकाबीच जसपा नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन यही भदौँ ३१ गते हुने छ । भदौँ ३१ गते अधिवेशनको उद्घाटनसत्र हुने र असोज १ गते देखि बन्दसत्र शुरु हुने कार्यक्रम रहेको जनाइएको छ ।
जसपा नेपाल मधेश प्रदेश अध्यक्षका आकांक्षी अहिलेसम्म दुईजना देखिएका छन् । एकताको प्रथम प्रदेश अधिवेशनमा जसपा नेपाल मधेश प्रदेशको ६५ सदस्यीय समिति रहने छन् भने ९ जना पदाधिकारी रहने छ । यस अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने छन् भने प्रतिनिधि छनोटका लागि यही भदौँ २५ गते प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय भेलाबाट छनोट गरिने भएको छ ।
रामबाबु यादवको अध्यक्षतामा रहेको प्रदेश कमिटी भंग गरेपछि सरकारी कर्मचारी रहेकै अवस्थामा बालकिशोर यादवलाई प्रदेश अध्यक्षमा दुई वर्ष अघि चयन गरिएको थियो । प्रदेश अध्यक्ष बालकिशोर यादव स्वास्थ्य कार्यालय पर्सामासातौं तहका अधिकृत पदमा कार्यरत थिए । कार्यरत रहँदा नै उनलाई प्रदेश अध्यक्ष पदमा चयन गरिएको थियो ।