सर्लाही, २३ भदाै । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेको खुलासा भएको छ ।

४० वर्षीय स्थानीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आइतबार सुशीला देवीमाथि बोक्सीको आरोपमा सामूहिक कुटपिट र दुर्व्यवहार भएको हो ।

दिनेश साह कानुकी श्रीमती ३७ वर्षीय संगीता देवी अकस्मात बिरामी भएपछि उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा आइतबार दिउँसो २ बजे बाटोमै उनको मृत्यु भयो ।

सुशीला देवीले टुनामुना गरेका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारजनले कुटपिट गर्नुका साथै केश मुण्डन गरी अमानवीय व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

घटनाबारे जानकारी पाउनासाथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पीडित महिलालाई उद्धार गरेको थियो । कुटपिट तथा अमानवीय कार्यमा संलग्न तीनै जना घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी राजन कार्कीले बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जनामाथि पीडितको तर्फबाट जाहेरी परेको बताए । आरोपितहरूले महिलालाई कुटपिट गरी केश मुण्डन गरेको उनको भनाइ छ ।

यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *