सर्लाही, २३ भदाै । नेपालमा भइरहेको जेनजी आन्दोलनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरिरहेका छन् । 

बीबीसीले नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताका युवाले देशव्यापी प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । प्रदर्शनमा अधिकांश स्कुल र कलेजका विद्यार्थी सहभागी भएको समाचारमा उल्लेख छ । प्रदर्शनकारीहरुले नेपालको राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउँदै संसद् भवन प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको जनाएको छ । 

यस्तै भरतीय अनलाइन न्युज पोर्टल इण्डिया टुडेले नेपालमा जेनजीले ठुलो प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । इण्डिया टुडेले आन्दोलनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु र ८० जना घाइते भएको उल्लेख गरेको छ ।

नेपाल सरकारले ४ सेप्टेम्बरमा २६ वटा मुख्य सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएपछि नागरिकमा आक्रोशमा बढेको उल्लेख गरेको छ । 

अर्को भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा जेनजी पुस्ता सरकारविरुद्ध सडकमा आएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु संसद् भवन परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको उल्लेख गरेको छ । आजतकले नेपालमा सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा आवाज उठेको भन्दै प्रदर्शन नियन्त्रणका लागि सरकारले कर्फ्यु आदेश जारी गरेको समाचार प्रकाशन गरेको छ । 

नवभारतटाइम्सले ‘फेसबुक, इन्स्टाग्राम बन्दविरुद्ध नेपालमा जेनजीको प्रदर्शन, कर्फ्यु लगाएपछि पनि संसद् परिसरमा प्रवेश गरे प्रदर्शनकारी’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । नेपालका जेनजीले सोमबारको प्रदर्शनलाई ‘जेनजी रिभोल्युसन’ नाम दिएको नवभारतटाइम्सले उल्लेख गरेको छ ।  

अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको जेनजी आन्दोलनको समाचारलाई प्राथमिकता दिइरहेका छन् । 

भ्रष्टाचार र समाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा नेपालका जेनजी पुस्ताले देशव्यापी प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् ।

राजधानी काठमाडौँ, विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायत प्रमुख सहर र अन्य स्थानमा पनि उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शन नियन्त्रणका लागि प्रशासनले काठमाडौँ र पोखराका केही स्थानमा कर्फ्यु आदेश समेत जारी गरेको छ भने अन्य केही सहरमा निषेधाज्ञा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *