सर्लाही, २४ भदाै । जेन-जी आन्दोलनकारीको प्रदर्शनका कारण मंगलबार बिहानैदेखि सर्लाहीस्थित महेन्द्र राजमार्ग ठप्प भएको छ ।

सर्लाहीको हरिवन, लालबन्दी, नवलपुर, बागमती लगायत स्थानका प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण बजारहरु समेत बन्द भएको छ । आन्दोलनका कारण लामो तथा छोटो दुरीका सबारीसाधन चलेका छैनन् ।


आन्दोलनकारीहरुले मुख्य रुपमा नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा सहित सत्ताधारी नेपाली कांग्रेस विरुद्ध समेत आक्रामक नाराबाजी गरिरहेका छन् । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका बजार तथा यातायात समेत ठप्प भएको छ ।

सामाजिक संजाल बन्द गर्ने निर्णय तथा मुलुकका प्रमुख राजनैतिक दलका मुख्य नेताहरुका सन्ततीको जीवनशैलीविरुद्ध एवं भ्रष्ट्राचार नियन्त्रणको मागसहित जेन-जी समूहले सोमबार दिउँसोबाट संघीय राजधानी काठमाडौंसहित मुलुकका प्रमुख शहरहरुमा प्रदर्शन सूरु गरेको हो ।

सोमबार दिउँसो काठमाडौंसहित मुलुकका विभिन्न शहरहरुमा जेन-जी युवाहरुको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *