सर्लाही, २५ भदाै । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।

नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन् ।

केन्द्रीय कारागारका एक जना अधिकृतका अनुसार नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि त्यहाँ रहेकाहरू पनि बाहिरिएका हुन् । ती अधिकृत भन्छन्, ‘अहिले केही फर्किएका पनि छन् ।’

सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी छन् । भागेका १ सय जना महिला कैदीबन्दी बुधबार फर्केका छन् । कारागार स्रोतका अनुसार त्यहाँ ४५० जना महिला कैदीबन्दी थिए ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागी थुनामा रहेका पूर्व गृह सचिव टेक नारायण पाण्डेले आगजनी हुने सूचना आएपछि निस्केको भन्दै आफू फर्किन तयार रहेको कारागार प्रशासनलाई जानकारी गराएका छन् । कारागारका एक जना अधिकृत भन्छन्, ‘उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’

शरणार्थी प्रकरणमै थुनामा रहेका रायमाझी भने कारागार प्रशासनको सम्पर्कमा आएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *