सर्लाही, २८ भदाै । हालै भएको ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ ।
शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने काम पनि थालिएको छ ।
आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीबाट क्षति पुगेपछि त्यसलाई गृह मन्त्रालयको नवनिर्मित भवनमा सारिएको छ ।
सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन पनि आगजनीले पूर्णरूपमा जलेको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र अर्थ मन्त्रालय लगायतका भवनमा क्षति पुगेको छ ।
यसैगरी, शिक्षा, सामान्य प्रशासन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्र मा पनि ठूलो क्षति भएको बताइएको छ ।