सर्लाही, २८ भदाै । जेन–जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित भएका होटलहरूमा काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायत क्षेत्रमा सञ्चालनमा रहेका छन् ।
काठमाण्डौको निर्माणाधिन हिल्टन होटलको मात्रै आठ अर्ब रुपैयाँभन्दा धेरेको क्षति भएको अनुमान छ । होटल प्रतिष्ठानलगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।
पर्यटन क्षेत्र छिट्टै पुनःरूत्थान हुने विश्वास
जेन–जीको प्रदर्शन र त्यसपछिको विषम अवस्थाले अरू क्षेत्रसहित पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ । महत्त्वपूर्ण सम्पदासँगै अन्तर्राष्ट्रिय पहिचान र शाखको रूपमा रहेको देशको पर्यटन क्षेत्रमा पनि पछिल्लो आन्दोलनले असर पुर्याएकाे हो ।
पर्यटकीय सिजन शुरू हुनै लाग्दाको विषम परिस्थितीले पर्यटनलाई थिलथिलो बनाएको यस क्षेत्रमा आवद्ध व्यवसायीले बताएका छन् । अबको पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही रद्द नै भएको छ ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किनेक्रममा थियो । अब फेरि पर्यटन क्षेत्रलाई उठाउने सरोकारवालाले जनाएका छन् । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर नभएकाले चाँडै सुधार हुने उनीहरूको विश्वास छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरूत्थानका लागि पहल थालिएको बताउनुभयो । उहाँका अनुसार अहिले नेपालमा झन्डै १५ हजार विदेशी पर्यटक रहेका छन् ।
जेन–जीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि बोर्डले अघि बढाएको उहाँले बताउनुभयो ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवाला एकताबद्ध भएर पर्यटन पुनःरूत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । यसका लागि सकारात्मक सन्देश प्रबाह गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरूत्थान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।’
नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् ।