सर्लाही, २८ भदाै । ‘केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निरास वा विचलित भएको छैन ।

आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस्, हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध छौं,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको अनुभव हो । देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ सपना पुरा होस भन्ने चाहना उनको छ ।

त्यस्तै, सकारात्मक सोच चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको पनि छ । ‘हामी फेरी उठ्ने छौं, हामी सिजीलाई पुनर्निर्माण गर्नेछौं, हामी अझ मजबुत भएर अघि बढ्ने छौं, यस विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली नागरिकप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिने छ,’ उनी भन्छन् ।

शान्तिपूर्ण रुपमा नयाँ नेपालको सपना बोकेको युवाको आन्दोलन हिंसा, लुटपाट र विनासमा परिणत भएपछि चौधरी ग्रुपका प्रबन्ध चौधरीले दिएको प्रतिक्रिया हो यो ।

उनी स्मरण गर्छन्, ‘हामीले अकल्पनीय क्रुरता देख्यौं र भोग्यौं । हाम्रो कम्पनीका अध्यक्ष विनोद चौधरीलाई व्यक्तिगत रूपमा लक्षित गरियो । हाम्रा घरहरूमा आक्रमण र आगजनी भयो । हाम्रा कारखाना र कार्यालयहरू नष्ट गरिए । शोरुमहरू लुटिए । शताब्दी लगाएर हुर्काइएका हाम्रा सिर्जनाहरू क्षणभरमै ध्वस्त बनाइए ।’

तर, यसले आफ्नो मनोबल नगिरेको उनी बताउँछन् । ‘इतिहासले हामीलाई जलाउने आगो सम्झने छैन । इतिहासले हामीलाई त्यसबाट कसरी बाहिर निस्कियौं भन्ने सम्झने छ,’ उनी अघि लेख्छन् ।

मंगलबार जेन–जी आन्दोलनका दौरान निजी क्षेत्रको लगानीमाथि भयानक आक्रमण गरियो । व्यवसायीका घर मात्र होइन्, उनीहरुको उद्यम र व्यापारिक प्रतिष्ठानलाई समेत लक्षित गरी आक्रमण भयो । यतिबेला व्यवसायीले आफ्नो प्रतिष्ठानमा के कति क्षति भयो आंकलन सम्म गर्न सक्ने अवस्थामा छैनन् । तर, निराशावादी भने छैनन् ।

शुक्रबार अधिकांश प्रतिष्ठानका प्रमुखहरुले अत्यासलाग्दो आक्रमणबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । जबैजसो उद्यमी–व्यवसायी भविश्यसँग आशावादी छन् । तर, उनीहरुको चाहना छ, ‘अब यस्तो दिन कहिल्लै नआओस, युवाले देखेको सुनौलो भविश्य र सपना पुरा होस ।’

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको रविभवनस्थित निवास र सीजसीको सतुंगलस्थित डिजिटल पार्कमा आलो लगाएर ध्वस्त बनाइएको छ ।

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा भने यस पटकको आक्रमणबाट विक्षिप्त छन् । प्रदर्शनकारीले उनको पोखरास्थित घर जलाएका थिए । सो क्रममा उनले परिवारकै सदस्यजस्तै गरी पालेकी कर्मचारीको समेत जलेर मृत्यु भएको छ ।

उनले लेखेका छन्, ‘परिवारकै सदस्य भएर बसेकी ती बहिनीलाई बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिँदा मर्माहत बनाएको छ’ थापाले लेखेका छन् । घरमा मान्छे छन् भन्ने थाहा हुँदाहुँदै तलबाट आगो लगाएका क्रुर अपराधीलाई उम्किन नदिन उनले आग्रह गरेका छन् । उनीजस्तै धेरै व्यवसायीको माग नै नियोजित रुपमा आक्रमण गरी निजी र व्यवसायिक प्रतिष्ठानमा क्षति पुर्‍याउनेहरुमाथि राज्यले कडा कारबाही गरोस भन्ने छ ।

प्रदर्शनका क्रममा भएको आगजनीको निसानामा अर्को प्रतिष्ठान भाटभटेनीले समेत अकल्पनीय आक्रमण भोग्यो । २०४१ सालमा एक सटरबाट सुरु भएको मीनबहादुर गुरुङको  यो व्यवसायले हजारौं युवापुस्तालाई रोजगारी दिएको थियो ।

भाटभटेनीका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त पारिएका छन् । ९ वटा स्टोरमा सामान लुटपाट गरिएको छ । ७ वटा स्टोर मात्र सद्दे छन् । भाटभटेनीले आफ्नो सामाजिक संजालमार्फत कर्मचारी र ग्राहकलाई खुसीको अंश बाँडेको छ । उसले भनेको छ, ‘दु:खद क्षण गुज्रिए, तर आशा हराएको छैन, भाट–भटेनी फेरी उभिनेछ ।’

निजी लगानीको सञ्चार उद्यम कान्तिपुर समेत प्रदर्शनकारीको निसानामा परेको थियो । आक्रमणपछि दुई दिनसम्म समाचार पोर्टल बन्द रहेको कान्तिपुरले आजबाट टेभिभिजन समेत प्रसारण थालेको छ । क्षतिग्रस्त भवन भित्रै जल्न बाँकी एक स्टुडियोबाट कान्तिपुरले आफ्नो प्रसारण थालेको हो ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तथा सिजी होल्डिङ्सका प्रमुख कार्यकारी करण चौधरीले पिडादायी क्षणहरुलाई पछाडि छाडिसकेको प्रतिक्रिया दिएका छन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ । तर विगतलाई हामी पछाडि छोडिसक्यौँ । आजको दिन हाम्रो हातमा छ । अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ ।’

उनले अगाडि लेखेका छन्, ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ । म पुन: निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु ।

यो देशले हामीलाई सबैथोक दिएको छ । अब हाम्रो पालो हो । हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ । यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो ।’

लगानीकर्ता त्रसित भइरहने अवस्था हटाऊ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा भएको तोडफोड तथा आगजनीको भर्त्सना गरेको छ । साथै व्यवसायिक र व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि समेत सबैको ध्यानाकर्षण गराइएको छ । महासंघका अनुसार मुलुकभर अर्बौं रुपैयाँको क्षति निजी क्षेत्र माथिको आक्रमणबाट भएको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन र राजस्व संकलनमा पर्ने देखिन्छ ।

तर, यो आन्दोलनबाट प्राप्त उपलब्धिले युवा पुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ । महासंघले भनेको छ, ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार छ ।’

नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि समेत आग्रह गरेको छ ।

उता, नेपाल उद्योग परिसंघले सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिई मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ । विद्यमान अन्यौल चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास समेत परिसंघको छ ।

आन्दोलनका क्रममा सार्वजनिक एवम निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाप्रति भने परिसंघले दु:ख व्यक्त गरेको छ । औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा परेको गम्भीर असर एवम व्यक्ति तथा व्यवसायकेन्द्रित तोडफोड, आगजनी एवम् लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित बनेको परिसंघले बताएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारी सँगै स्वदेशी एवम विदेशी लगानीमा परिसंघको भनाइ छ । निजी क्षेत्रलाई निर्वाध उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूति दिलाउन परिसंघले आग्रह गरेको छ ।

नेपाल समुद्रपार निकासी पैठारी संघले प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवम निवासलाई तोडफोड एवम आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी अभूतपूर्व रुपमा भयभित भएको संघले बताएको छ । यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघको ठहर छ । नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प नभएको संघको भनाई छ । अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भई युवा पुस्ताको चाहना बमोजिम समृद्धि यात्रामा देश अगाडि बढ्ने अपेक्षा संघले गरेको छ ।

होटेल संघ नेपाल (हान)ले एक दिनको आन्दोलनबाट अनुमानित २५ अर्ब रुपैयाँ बराबरको क्षति होटेल उद्योगले बेहोरेको अनुमान गरेको छ । होटलहरु मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने हानको अनुमान छ । हाल संचालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको समेत हानको भनाइ छ । सुशासन विकास र जनताले खोजेको मुलभूत परिवर्तनका लागि दर्जनौं नव युवाहरुले जीवन बलिदान गरेका र सयौं घाइते योद्धाहरुको त्यागबाट सफल रहेको आन्दोलनबाट प्रारम्भ हुन लागेको संक्रमणकालीन हालको अवस्थामा सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको छानबिन हुनुपर्ने मागसमेत गरिएको छ ।

शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मत सम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न माग गरिएको छ । आर्थिक स्थायित्व तथा समृद्धि हाँसिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघ नेपालले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *