सर्लाही, २८ भदाै । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा गत भदौ २४ गते राति करिब ९ बजे अज्ञात समूहले आगजनी र लुटपाट गरेको घटना सार्वजनिक भएको छ । 

यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल टिकटक अकाउन्ट ( SAH  ji @ pappu 445 ) नाम गरेकोमा पोस्ट भएको पाइएको छ, जसमा विभिन्न व्यक्तिहरुको गतिविधि, तस्वीर तथा अडियो समेत देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कार्यालयको ढोका तोडी भित्र पसेका आपराधिक समूहले अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत सम्पूर्ण कार्यकक्ष र प्रशासन, शिक्षा, स्वास्थ्य, राजश्व, प्राविधिक, पञ्जिकरण, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, भूमि तथा योजना, न्यायिक र कृषि शाखालगायतका सम्पूर्ण शाखामा रहेका अभिलेख, फर्निचर, उपकरण तथा सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा आवश्यक सामग्री, हार्डवेयर र सफ्टवेयरसहितका मेसिनरी उपकरण समेत चोरी गरिएको बताइएको छ ।

भदौ २५ गते राति करिब १२ बजे पुनः लुटपाट प्रयास भएको गाउँपालिकाले जनाएको छ। 

यसरी जनताको करबाट निर्मित सार्वजनिक सम्पत्तिमा आपराधिक गतिविधि गरिएको भन्दै गाउँपालिकाले दोषी पहिचानमा सहयोग गर्ने जो कोहीलाई ने.रु. ११ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै अपराधीको पहिचानमा सहयोग गर्न नागरिकलाई आग्रह गर्नुभएको छ। 

उहाँले अपराधीका तस्वीर, भिडियो, अडियो वा अन्य प्रमाण उपलब्ध गराउने व्यक्तिलाई “सम्मानसहित” पुरस्कार दिने जानकारी दिनुभयो।

गाउँपालिकाले यो घटनालाई जेन जी आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले आपराधिक समूहले नियोजित रुपमा गरेको कार्य ठहर गर्दै अर्को सूचना प्रकाशित नभएसम्म आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *