सर्लाही, २८ भदाै । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समितिमातहत रहेका १८३ वटा सालका रुख जेनजी आन्दोलनको नाममा काटिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार आन्दोलनको दिन युवाहरू दिउँसै समितिको कार्यालयमा पुगेर आगजनी गर्ने प्रयास गरेका थिए । आगजनी प्रयास असफल भएपछि उनीहरूले सोही दिन १८ वटा सालका रुख काटेका थिए । त्यसको भोलिपल्ट बुधबार थप १६५ वटा सालका रुख काटिएको हो ।

घटनापछि प्रहरीले बुधबारै रुख कटानमा संलग्न रहेको आरोपमा कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो। तर, सयौँ गाउँलेले प्रहरीलाई घेरेपछि पक्राउ परेकाहरूलाई प्रहरीले छाडेको थियो।
रुख कटानको घटनाबारे अहिले अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग भइरहेका स्थानीयवासीहरूले बताएका छन्।









