सर्लाही, ३० भदाै । जेनजी आन्दोलनका कारण विस्थापित भएका सर्लाही जिल्लाका छ वटा प्रहरी चौकीमा एक सातापछि पनि अझै प्रहरी फर्किन सकेका छैनन् । आन्दोलन चर्किएपछि सुरक्षा चुनौती बढेपछि गत मङ्गलबार र बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक दर्जन प्रहरी चौकीका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार कबिलासी, ब्रह्मपुरी, कौडेना, नारायणपुर, औरही र मलंगवा-४ पेट्रोल पम्पस्थित प्रहरी चौकी हालसम्म खाली रहेका छन् । प्रदर्शनकारीले ती कार्यालयमा आगजनी तथा तोडफोड गरेर क्षति पुर्याएका कारण तत्काल प्रहरी फिर्ता पठाउन नसकिएको डिएसपी राईले जानकारी दिए ।
“विस्थापित चौकीहरुमा हाल स्थानीय जनप्रतिनिधि र वासिन्दाले मर्मत सुरु गरेका छन्,” डिएसपी राईले उज्यालो अभियानसँग भने, “मर्मत सम्पन्न भएपछि मात्र ती चौकीमा पुनः प्रहरी परिचालन हुनेछ ।”
उक्त आन्दोलनको बेला क्षति नभएका तर सुरक्षाका कारण खाली गरिएका घारिबथान, परवानीपुर, सोल्टी, राजघाट, फूलजोर, हजरिया, मधुवनगोठ, र सङ्ग्रामपुरका अस्थायी तथा स्थायी प्रहरी चौकीहरूमा भने अहिले प्रहरी फर्किसकेका छन् ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले प्रभावित क्षेत्रहरूको अनुगमन गर्दा स्थानीय बासिन्दाले तत्काल सुरक्षा प्रत्याभूति दिन माग गरेपछि खाली चौकीहरूमा क्रमशः प्रहरी फिर्ता पठाउने काम थालिएको प्रहरीले जनाएको छ ।