सर्लाही, ३१ भदाै । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले कानुन हातमा लिने काम सुरु गरेका छन् । उनका पछिल्ला फेसबुक स्टाटस आक्रामक र अराजक देखिएका छन् ।

मंगलबार साढे ११ बजे उनले गरेको पोस्टमा ‘डिजिटल जेनेरेसन फोर्स’ गठन गरी कारबाही सुरु गरेको उल्लेख गरेका छन् ।

उनले यो फोर्सले सार्वजनिक सम्पत्ति नष्ट गर्ने, प्रहरीमाथि आक्रमण गर्नेहरूका विरुद्ध कारबाही सुरु गरिएको भन्दै एक जना युवकलाई अर्धनग्न अवस्थामा हात पछाडि बाँधेको अवस्थाको फोटोे सार्वजनिक गरेको देखिन्छ ।

उनलाई मोबाइल चोर भनिएको छ । केही मानिसले ती युवालाई सोधखोज गरेको देखिन्छ भने उनको अवस्था हेर्दा कुटपिट भएको समेत देखिन्छ । 

गलत कार्य गर्नेका विरुद्ध कानुनी कारबाही गर्ने राज्यका संरचना छन् । तर, जसलाई जे मन लाग्याे, त्यही गर्न थालियाे भने कानुनी राज्यकाे खिल्ली उड्छ । अहिले बस्नेतले साेही गतिविधि गरिरहेकाे देख्न सकिन्छ ।

२४ भदौको आन्दोलनको निसानामा बस्नेतको घर पनि परेको थियो । उनको घर आन्दोलनकारीले जलाएका थिए । घरको अवस्था बुझ्न पुगेको सुनौलो नेपाल नामको युट्युब च्यानलसँग उनले कुरा गरेका छन् । 

बस्नेतले पत्रकार राजीव खत्रीको प्रसंग झिक्दै उनलाई खुकुरीले काट्ने हाकाहाकी भनेका छन् । त्यसपछिका स्टाटस र भाषणमा बस्नेतले आइपरे तरबार पनि बोक्न पछि हट्न नहुने अभिव्यक्ति दिएका छन् ।  

एमाले अध्यक्ष केपी ओलीको निवासमा पुगेर बस्नेतले जेन–जी भनेकै आतंककारी हो भनेका छन् ।

उनले उक्त शब्द दोहोर्‍याउँदै भनेका छन्– ‘म पचासचोटि भन्छु, जेन–जी भनेकै आतंककारी हो ।’

समाजलाई अराजक शैलीमा लैजान यस्ता अभिव्यक्ति काफी हुन्छन् । उनका पोस्टमा आएका कमेन्टहरू उनलाई जिम्मेवार बन्न सुझाव दिनेखालका बढी देखिन्छन् ।

धेरैले भनिरहेका छन्, ‘एउटा जिम्मेवार पार्टीको नेताले कानुन हातमा लिने अभिव्यक्ति दिँदै सोहीअनुसारको व्यवहार प्रदर्शन गर्नु समाजलाई थप हिंसाको बाटोतर्फ डोर्‍याउन उद्यत हुनु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *