सर्लाही, ३१ भदाै । जनसेवा प्रहरी बृत्त धर्मपथको नेवा सांस्कृतिक भवनमा सरेको छ । काठमाडौँ महानगरपालिकाले सोमबार निर्णय गर्दै प्रहरीलाई तत्काल बस्नका लागि यो भवन उपलब्ध गराएको हो ।
वडा नं २३ मा पर्ने यो भवनमै रहेर जनसेवा बृत्तले मंगलबारदेखि सेवा सुरु गरेको छ । यसअघि विशालबजार सँगै रहेको भवनमा जेनजी आन्दोलनकारीले आगो लगाइदिएका छन् । आगजनीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
तत्काललाई अत्यावश्यक सामाग्रीका लागि पनि विभिन्न वडा कार्यालयहरुले सहयोग गर्ने भएका छन् । प्रहरी बृत्त अन्तरगत पर्ने वडाहरुले सहयोग उपलब्ध गराउने प्रहरीलाई बचन दिएका छन् ।
जहाँ जहाँ प्रहरीलाई बस्ने व्यवस्था हुने छैन, त्यहाँ प्रहरी तत्काल नबस्ने भएको छ । प्रहरी नभए अपराध र असुरक्षा बढ्ने भएपछि स्थानीय आफैँ प्रहरीका लागि आवश्यक सामाग्री जुटाउन लागि परेका छन् । यसअघिका भवन पुनर्निर्माणका लागि पनि स्थानीय खटिएका छन् ।
काठमाडौँमा प्रहरी बृत्त मालिगाउँबाहेक सबै प्रहरी बृत्त, प्रभाग, बिटहरु जलाएका छन् । प्रहरीका बन्दोबस्तीका सामान र हातहतियार पनि आन्दोलनकारीले खोसेका छन् । प्रहरी पोषाक समेत नहुँदा सादा पोसाकमै डीयूटीमा खटिन थालेको छ ।