सर्लाही, ३१ भदाै । नयाँ बानेश्वरको संघीय संसद् भवनअगाडि रहेको सिभिल अस्पताल अरु दिनझैँ व्यस्त थियो । डा परिमल आचार्य त्यस दिन पनि बिरामीको उपचारमा खटिइरहेका थिए ।
दिउँसो खाजा खान निस्किएका परिमल बाहिरको कोलाहल सुनिरहेका थिए। त्यत्तिकैमा उनलाई फोन आयो, ‘तुरुन्त आकस्मिक कक्षमा आउनुस् ।’
जब उनी आकस्मिक कक्षमा पुगे, तब उनको अगाडि रगताम्य भएका युवाहरू थिए । घाइतेको संख्या बढ्दै गयो । त्यस दिनयता जबजब उनी अस्पतालको अपरेसन कक्ष पुग्छन्, तबतब उनी त्यस दिन भएका घटना सम्झेर विक्षिप्त हुन्छन् ।
कोही युवाको छातीमा गोली लागेको थियो त कसैको टाउकोमा । कसैको हात खुट्टामा त कोही गोलीको छर्रा लागेर आएका थिए । यसअघि उनले अस्पतालमा त्यस्तो दृश्य देखेका थिएनन् ।
अस्पताल परिसर बाहिर गोलीको आवाज बढ्न थाल्छ। सँगै मानिसको चिच्याहट पनि । जति आवाज बढ्छ, त्यति नै भीड अस्पतालमा बढ्छ । डा परिमल अस्तव्यस्ताबीच पनि घाइतेको शरीरबाट गोली निकाल्न थाल्छन् । घाइतेको संख्या बढेसँगै अस्पतालका सबै चिकित्सक आकस्मिक कक्षमा पुग्छन् । पहिला नै आकस्मिक कक्षमा धेरै बिरामी हुँदा पहिला घाइतेहरूलाई शय्या मिलाउन सकस हुन्छ । आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारेर सुरु हुन्छ घाइतेको उपचार ।
सिभिल अस्पतालको आकस्मिक कक्षको क्षमता ३० शय्याको हो । प्रहरी दमनपछि जेनजी आन्दोलनको एपिसेन्टरको नजिकैको अस्पताल भएकाले सबैलाई सिभिल अस्पताल पुर्याउन थालियो । आकस्मिक कक्ष भरिन केही समय पनि लागेन ।
भदौ २३ को दिन सिभिल अस्पतालको अवस्था सम्झिँदै डा परिमल भन्छन्, ‘यस्तो अवस्था चिकित्सकीय जीवनमा पहिलो पटक देखियो ।’
‘सबै प्रदर्शन बानेश्वर केन्द्रित हुँने हुँदा घाइतेहरू सुरुमा सिभिल अस्पताल नै आउँछन् । पहिलापहिला लाठीचार्जका कारण घाइते भएर आउने गर्थे,’ उनले भने, ‘यो प्रदर्शनमा एक जना पनि लाठीचार्जका कारण घाइते थिएनन् । सबै गोली हानेका घाइते थिए ।’
जेनजी आन्दोलनका बारेमा जानकार रहेको भन्दै उनले अन्य समयका आन्दोलन झैँ केही घाइतेहरू आउने आकलन गरेका थिए ।
‘लाठीचार्ज, अश्रुग्यासका कारण केही घाइते आउने आकलन गरेर तयारी गरियो । तर, हाम्रो आकलन र सोच भन्दा फरक दृश्य देखियो,’ उनले भने, ‘रगताम्य भएर अस्पताल आउनेको भीड बढ्न थाले पछि सबै चिकित्सक आकस्मिक कक्षमा आएर उपचार सुरु गर्यौँ ।’
शरीरभरि गोली लागेका घाइते आएको उनले सुनाए ।
‘एउटा व्यक्तिमा ८ वटासम्म गोली लागेको थियो, टाउकोदेखि पैतालासम्म गोली लागेका घाइते थिए,’ उनी भन्छन्, ‘गोली पनि फरकफरक प्रकारका पायौँ। घाइतेलाई प्लास्टिक बुलेट, रबर बुलेट र ठूलो बुलेट लागेको थियो । एक घाइतेको कम्मर नै छेडिएको थियो ।’

अस्पताल आएकामध्ये ५० जना घाइतेको तीन दिन लगाएर शल्यक्रिया गरेको डा आचार्य बताउँछन् ।
आकस्मिक विभाग प्रमुख डा रमेश पन्त कल्पनाभन्दा बाहिरको संख्यामा घाइते आएको बताउँछन् ।
‘अस्पताल एकैछिनमा युद्धमैदान जस्तै बनेको थियो। गोली लागेका घाइते देख्दा सम्हालिन नसक्ने अवस्था थियो,’ उनले भने, ‘टाउको र छातीमा गोली लागेका बिरामीले अस्पतालका शय्या भरिए, अस्पतालसँग तत्काल एम्बुलेन्स थिएन । घाइतेलाई अन्य अस्पताल पठाउन नसक्दा हामी हताश भएका थियौँ । प्रदर्शनका कारण त्रिवि शिक्षण र ट्रमा अस्पतालका एम्बुलेन्स आउन सकेनन् ।’
घाइतेमध्ये धेरै ३० वर्ष मुनिका थिए । सोमबार मात्रै टाउको, छातीमा गोली लागेर रगताम्य भएका ३ जना घाइतेको मृत्यु भएको उनले सुनाए ।
अस्पतालका एक कर्मचारी गोली चल्न थालेपछि प्रदर्शनकारी अस्पतालभित्र छिरेको बताउँछन् ।
‘अस्पतालमा प्रहरीले केही गर्दैन भनेर बच्न आएका थिए होला, तर प्रहरीले अस्पतालभित्र प्रदर्शनकारी भएको थाहा पाएर अश्रुग्यास हान्यो । अस्पतालभित्र अश्रुग्यास हान्दा चिकित्सकलाई उपचार गराउन निकै गाह्रो भएको थियो,’ उनले भने ।
आकस्मिक विभाग प्रमुख डा पन्त अश्रुग्यासले उपचार सेवा नै प्रभावित भएको सुनाउँछन् ।
‘उपचार गर्दैगर्दा आँखा पोलेर बस्न नसक्ने अवस्था बनेको थियो,’ उनले सुनाए ।
यसअघि, राजावादी र शिक्षकहरूले गरेको प्रदर्शनमा यसखालको दृश्य देखिएको थिएन ।
‘शिक्षक आन्दोलनमा ३६ जना लाठीचार्जबाट घाइते आएका थिए, यस्तै सामान्य खालको प्रदर्शन होला भन्ने सोचेका थियौँ । प्रदर्शनले यो दृश्यले जो कोही पनि तर्सिने नै अवस्था थियो,’ डा पन्त सुनाउँछन्, ‘अन्य प्रदर्शनमा लाठीचार्ज भएका र खुट्टाभन्दा तल गोली लागेका घाइते हुन्थे, जेनजी प्रदर्शनमा टाउको, छातीमा गोली लाग्ने धेरै पायौँ । ’
अस्पतालमा मृत्यु हुने ६ जनाकै टाउको र छातीमा गोली लागेको डा पन्तले जानकारी दिए ।
डा आचार्यका अनुसार शल्यक्रिया भएकामध्ये ११ जनाको दोस्रो पटक शल्यक्रिया गरिएको थियो ।
‘कुनै घाइतेको एकै पटकमा सबै गोली निकाल्न सकिँदैन, जोखिम पनि हुन्छ। दोस्रो पटक शल्यक्रिया गरेर गोली निकालेका छौँ,’ उनको भनाइ छ ।
शल्यक्रियापछि बिरामीमा संक्रमणको जोखिम हुन्छ । तर, सिभिलमा कुनै पनि बिरामीलाई संक्रमण नभएको उनले सुनाए ।
गोलीको सबै छर्रा निकाल्न नसकिने र निकाल्दा थप जोखिम हुने हुँदा केही घाइतेको शरीरबाट छर्रा ननिकालेको उनले बताए ।

‘जनशक्ति नभएको महसुस भयो’
सिभिल अस्पतालले ४४ जना घाइतेलाई उपचार दिन नसक्ने भन्दै रिफर गरेको थियो। न्युरो, कार्डियो थोरासिक र प्लास्टिक शल्यचिकित्सक नभएको भन्दै घाइतेलाई रिफर गरेको थियो।
डा परिमल आचार्य आवश्यक जनशक्ति नभएकाले अस्पताल आएका घाइतेलाई रिफर गर्नुपर्दा निकै नराम्रो लागेको बताउँछन्।
‘अधिकांश घाइतेलाई टाउको र छातीमा गोली लागेको थियो। हामीसँग न्युरो र कार्डियोथोरासिक (रक्तनली)को शल्यक्रिया गर्ने शल्यचिकित्सक नहुँदा घाइतेलाई अन्य अस्पताल पठाउनु पर्यो,’ डा आचार्य भन्छन्, ‘तत्काल उपचार गर्नुपर्ने घाइतेलाई रिफर गर्दा केहीको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो।’
प्रदर्शनले अस्पताल सबैको उपचार गर्न सक्षम छैन भन्ने देखिएको उनको भनाइ छ।
‘न्युरो, कार्डियोथोरासिक शल्यचिकित्सक भएको भए थप घाइतेलाई बचाउन सकिन्थ्यो। तत्काल उपचार गरेर बचाउन सकिने घाइतेलाई उपचार गर्न सकिएन,’ हाडजोर्नी रोग विशेषज्ञ डा आचार्य मन अमिलो पार्छन्।
आकस्मिक कक्षमा पनि कम शय्या भएका कारण उपचारमा समस्या भएको उनले बताए।
आकस्मिक कक्ष प्रमुख डा पन्त जनशक्ति अभावका कारण उपचार गर्न नसक्दा निकै दुख लागेको बताउँछन्।
‘भूकम्प, कोरोना र अन्य आन्दोलनमा हामी उपचार गर्न सक्षम थियौँ, सबै बिरामीको उपचार गर्यौँ। तर, यस प्रदर्शनमा जनशक्ति नभएर उपचार गर्न नपाउँदा मन कुँडिएको छ,’ उनले भने।
जेनजी प्रदर्शनका घाइतेको उपचार गर्न सिभिल अस्पतालले ओपीडी र शल्यक्रिया सेवा बन्द गरेको थियो। अस्पतालले चार दिनपछि गत शुक्रबारदेखि सबै सेवा नियमित गरेको छ।
अस्पताल प्रशासनले घाइते डिस्चार्ज हुँदै गएकाले सेवा सुरु गरिएको जनाएको छ। अस्पतालमा ८ जना घाइतेको भर्ना गरेर उपचार भइरहेको छ। अस्पतालले जम्मा ४६० जना घाइतेको उपचार गरेको छ।