सर्लाही, ३१ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा रामपुकार यादवको गत साउन ३० गते गोली हानी हत्या गरिएको घटनासँग सम्बन्धित फरार प्रतिवादी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ज्यान सम्बन्धी उक्त गम्भीर अपराध पछि फरार रहेका २६ वर्षीय सन्तोष उर्फ अभि कुमार यादवलाई पक्राउ गरिएको हो । उनी सोही स्थानका रामलगन राय यादवका छोरा हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभियुक्त भारत तर्फ रहेका र नेपाल फर्कन लागेको गोप्य सूचनाको आधारमा विशेष टोली खटाइएको थियो । प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक रोशन अधिकारिको नेतृत्वमा खटिएको चार जनाको टोलीले सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर बाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।