सर्लाही, ०२ असाेज । बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र फैलियो ।
अदालतका कर्मचारीहरूले अगाडी एउटा कुर्सी र टेबल, छेवैमा अर्को सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका थिए । पछाडीपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएको थियो ।
सर्वोच्च अदालतको क्यान्टिनको सामुन्ने खडा गरिएको पालभित्र हप्प गर्मी थियो । करिब साढे ११ बजेतिर अधिवक्ता विरेन्द्र पाठक पसिना पुछ्दै त्यही पालभित्र छिरे अनि मुद्दाको फाइल पढ्न थाले ।
करिब पौने ११ बजेतिर एक सहयोगीका साथ न्यायाधीश सपना प्रधान मल्ल पालभित्र छिरिन् । अदालतका कर्मचारीहरू र कानून व्यवसायी जर्याकजुरुक उठे र उनलाई नमस्कार गरे । पालबाहिर रमिता हेर्नेको ताँती थियो । त्यसपछि उनले पालभित्रै बसेर मुद्दाको सुनुवाइ थालिन् ।
२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु भएको हो । आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको हो ।
सामग्रीहरू जसरी जोरजाम गरिएको थियो कि त्यही बेला बेसरी पानी परेको भए इजलासमा रहेका न्यायाधीश र कागजात नै झरी र बाछिटाले भिज्ने अवस्था थियो । आधाजस्तो ह्वाङ्ग बनेको इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले जसोतसो सुरक्षा दिइरहेका थिए ।
केहीबेरमा अधिवक्ता बिरेन्द्र पाठकले बेञ्चबाट उठेर आफ्ना कुरा राख्न थाले । बाँके कारागारमा रहेका फिरोज आलमको थुना गैरकानूनी भएको भन्दै उनले रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने माग गरे ।
भएछ के भने, कुनै जग्गा धितोमा राखेर ऋण लिएका फिरोजमाथि अरुको जग्गा कीर्ते गरेर लिएको भन्ने आरोप लागेछ । फिरोजलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई उच्च अदालत, तुलसीपुरले पनि सदर गरेछ । उनी त्यसविरुद्ध सर्वोच्च समेत आएका रहेछन् । तर, न्यायाधीशले जिल्लाबाट फाइल मगाउने आदेश गरेलगत्तै सर्वोच्चमा आगजनी भएछ ।
फेरि शुरुदेखि प्रक्रिया थाल्दा ढिलो हुने र आफ्नो क्लाइन्ट अन्यायमा पर्ने भन्दै अधिवक्ता पाठकले बन्दीप्रत्यक्षीकरणको आदेश गरिदिन माग गरे । सडकको होहल्ला र अदालतको भीडको आवाजले खुला पालभित्र बहसको आवाज सुन्न कठिन भएको थियो ।

कान चनाखो बनाई बहस सुनिरहेकी न्यायाधीश प्रधानले नोटबुकमा बहसको बुदा टिपिरहेकी थिइन् । करिब १० मिनेटको बहसपछि उनले भनिन्, ‘फाइल मगाउने आदेश गरिदिन्छु ।’ उनी उनले इजलास अधिकृतलाई आदेशको मस्यौदा गर्न लगाइन् ।
उनले अदालतको सबै फाइल ध्वस्त भएकाले मुद्दाको पक्षबाट नै कागजात मलाउनुपर्ला भनेर कानून व्यवसायी र इजलास अधिकृतसँग सरसल्लाह समेत गरिन् ।
त्यसपछि न्यायाधीश प्रधान पालबाट उठेर हिँडिन् । इजलास अधिकृतले त्यहाँ भएका फाइल र नोटकपि उठाएर हिँडे । त्यो पालबाट एकल इजलासको सेट नै उठ्यो । पालभित्र कुर्सीबेञ्च मात्रै बाँकी रहे ।