काठमाडौँ, ०२ असाेज । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । जसलाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ ।
उक्त सम्झौता अन्तर्गत यीमध्ये एउटा देशमा आक्रमण भए दुवै देशमाथिको आक्रमण मानिनेछ ।
यो सम्झौता प्रधानमन्त्री शहबाज सरिफ साउदी अरेबिया भ्रमणमा रहेका बेला भएको हो ।
साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले रियादको अल-यामामा दरबारमा सरिफलाई स्वागत गरे ।
भेटका क्रममा दुई नेताले आफ्नो सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल गरे ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘दुई देशबीच लगभग ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक एकता र रणनीतिक सहयोगमा आधारित छ ।’
विदेशमन्त्रीका अनुसार, यो सम्झौताले रक्षा सहयोग बढाउने र क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।