सर्लाही, ०२ असाेज । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति कस्तो होला भन्नेमा अन्यौलग्रस्त देखिन्छन् ।
‘६ महिनामा चुनाव गराउने भन्ने छ, तर धेरै जेनजीसँग मतदाता परिचय पत्र नै छैन’, होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय विद्यार्थी राज खड्का भन्छन्, ‘त्यसले हामी चुनावमा पछि पर्लाउँ कि वा कतै पुरानै पार्टी पो फर्किएलान् कि भन्ने चिन्ता छ ।’
मतदाता परिचय पत्र बनाउने काम त व्यवस्थापन होला, तर जेनजी प्रतिनिधि कुन दलबाट सदनसम्म पुग्लान् र आफूले चाहे जस्तो सरकार चलाएर देखाउलान् भन्ने प्रश्न चाहिँ अझ गम्भीर छ ।
‘हामी बलियोसँग उभिन सकेनौं भने फेरि पुरानै पार्टीका मान्छेहरु शक्तिमा आउनेछन्, त्यो डर सबैमा छ,’ जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा बानेश्वरमा भएको दीप प्रज्जवलनमा सहभागी खड्का चिन्ता व्यक्त गर्छन्, ‘चुनावपछि फेरि पुरानै पार्टीका सदस्य आए भने हाम्रो मेहनत सबै खेर जान्छ, त्यो हुन दिनु हुँदैन ।’
पुराना राजनीतिक दलहरुमा अहिलेसम्म उही नेता छन् । नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले छाडेका छैनन्, कांग्रेस सभापति पनि शेरबहादुर देउवा नै छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत देउवाको विकल्प अहिल्यै आफूहरुले नखोज्ने बताएका छन् ।
माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन जनार्दन शर्माले भनेका छन् । यद्यपि, उनी समेत नेतृत्व छाड्ने मनस्थितिमा छैनन्, बरु सार्वजनिक कार्यक्रमहरुमा देखा पर्न थालिसकेका छन् । नयाँ अनुहारको बाहुल्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत अहिले आफ्नै विवादमा छ ।
पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राजीनामा दिएपछि पार्टीभित्र सन्नाटा छ । सभापति रवि लामिछाने जेनजी आन्दोलनका बेला कारागारबाट बाहिरिँदा उल्टै आलोचना खेप्नुपरेको छ ।
खुल्नसक्छ नयाँ दल
यो स्थितिमा पुराना दलले समेत केही जेनजीलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गर्न थालिसकेको स्रोत बताउँछ । तर, उनीहरुको बुझाइमा जसरी पछिल्लो विध्वंसपछि समेत ती दलका नेतृत्व सच्चिएका छैनन्, त्यही अनुरुप पुराना दल र अरु नेताहरुलाई समेत विश्वास गर्ने कुनै आधार छैन ।
‘मलाई कांग्रेस–एमाले–माओवादीमध्ये एउटा पार्टीबाट अब तपाईंहरु आउनु पर्यो, हामी स्थान दिन्छौं भन्दै फोन आइरहेको छ,’ एक जेनजी अगुवाले अनलाइनखबरसँग भने, ‘तर, उनीहरुको स्वार्थ हामीले नबुझ्ने कुरै भएन ।’
त्यसो भए नयाँ पुस्ताको माग पूरा गराउने दल कुन हो त ? जेनजी आन्दोलनको नेतृत्वदायी भूमिका रहेका एक युवा बब्लु गुप्ता भन्छन्, ‘हामीले पहिले जस्तो को मन्त्री बन्ने, को प्रधानमन्त्री बन्ने भन्ने दौड खोजेका होइनौं, स्पष्ट माग भ्रष्टाचार अन्त्य हुनुपर्यो र युवा पुस्ता स्वदेशमै बस्न सक्ने परिस्थिति बनोस् भन्ने हो । यो माग पुराना दलले पूरा गराउँछन् भन्ने लाग्दैन ।’