सर्लाही, ०३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबारे देखाएको चासोलाई स्वागत गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । 

रास्वपाका प्रवक्ता मनिष झाले जेनजीका धेरै नागरिक मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै आफूहरूले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

पार्टीले प्रवासमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास र कन्सुलेट तथा नेपालका अन्तरराष्ट्रिय विमानस्थलका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न प्रस्तावसमेत गर्ने जनाएको छ ।

यस्तै, रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने निर्णय गरेको छ। “जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्नेछ”, बैठकका निर्णय समावेश विज्ञप्तिमा भनिएको छ । 

आगामी फागुनमा आमनिर्वाचन तय भएसँगै रास्वपाको पहिलो महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ ।

सचिवालयको बैठकले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनबारे आवश्यक छलफल र निर्णय आगामी बैठकमा गर्ने प्रस्ताव समेत गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *