सर्लाही, ०३ असाेज । भदौ २३ र २४ गते जेन–जी युवाहरुद्वारा गरिएको र्‍याली तथा जुलुसका क्रममा सर्लाही जिल्लाभित्र विभिन्न सरकारी तथा निजी भवनहरू, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरूबाट कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, सवारी साधन, हातहतियार लगायतका जिन्सी तथा नगद सामग्रीहरू लुटिएको घटना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक अपील जारी गर्दै यस्ता सामग्रीहरू यथासिघ्र प्रहरी कार्यालयमा फिर्ता गर्न अनुरोध गरेको छ ।

प्रहरीले नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा ती सामानहरू फिर्ता गरिदिन आग्रह गर्दै, यदि फिर्ता नगरेमा प्रचलित कानुन अनुसार सम्बन्धित व्यक्ति माथि कडा कारवाही गरिने चेतावनी दिएको छ ।

साथै, उक्त लुटपाट र चोरी सम्बन्धी फोटो, भिडियो तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरू सम्बन्धी लिंकहरू कसैसँग भएमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको इमेल malagwasanchar@gmail.com ठेगानामा पठाई अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरिएको छ ।

यस्ता प्रमाण उपलब्ध गराउने व्यक्तिको नाम, थर र ठेगाना गोप्य राखिने प्रहरीले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *