सर्लाही, ०४ भदाै । अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ । 

सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने निवर्तमान सांसदसमेत रहेका झा हात हल्लाएर आगजनीस्थलबाट हिँडेको देखिन्छ । 

सामाजिक सञ्जालमा भिडिओ राख्नेले भने उनले युवाहरूलाई कारागारमा आगो लगाउन उक्साएर भागेको आरोप लगाएका छन् । 

हेर्नुहोस्, सामाजिक सञ्जालमा राखिएको भिडिओ

https://platform.twitter.com/embed/Tweet.html?

यद्यपि उक्त भिडिओको प्रामणिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन । 

यस विषयमा वास्तविकता बुझ्न नेपालखबरले शनिबार बिहान ९:५३ देखि १०:३३ बजेसम्म तीनपटक रास्वपा प्रवक्ता झाको नम्बरमा फोन लगाउँदा ‘कल फरवार्डेड’ भनेर सम्पर्क हुन सकेन । 

न उनी स्वयंले यो खबर लेख्दासम्म त्यस भिडिओका विषयमा कुनै टिप्पणी गरेका छन् । 

स्मरण रहोस्, जेनजी आन्दोलनका कारण असुरक्षा भएको भन्दै भदौ २४ गते रास्वपाका सभापति रवि लामिछानेलाई कारागारबाट निकालिएको थियो । त्यस क्रममा मौकामा चौका हानेर रवि जेलबाट भागेको भनेर आलोचना पनि भयो । 

यसपछि रविले भिडिओ सन्देश जारी गर्दै आफूलाई कारागार प्रशासनले नै पत्र थमाएर जेलबाट बाहिरिन अनुमति दिएको दाबी गरेका थिए। तर त्यो पत्र पनि नक्कली रहेको भनी विवाद भएको थियो । 

अहिले भने रवि कारागार फर्किसकेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनी सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि जेलमा थुनिएका हुन्। मुद्दाको फैसला हुन भने बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *