सर्लाही, ०४ भदाै । जेनजी आन्दोलनको अगुवाको परिचय बनाएका सुदन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता महेश बस्नेतले आफूसँग संवाद गरेको र आफ्नो पार्टीमा प्रवेश गर्न इच्छुक भएको भनेर गरेको दाबी निराधार भएको बताएका छन् ।
उनको संस्था हामी नेपालले आज (शनिबार) विज्ञप्ति जारी गरी त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिलाई विश्वास नगर्न आग्रह गरेको हो ।
वक्तव्यमा भनिएको छ, ‘सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन् । यस्तो संवाद कहिल्यै भएको छैन र कहिल्यै हुने पनि छैन। हामी उनलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ ।’
सुदनले वक्तव्यमार्फत महेशलाई भनेका छन्, ‘झुट नफैलाउनू। संविधानले तपाईंलाई संरक्षण दिएको छ भन्ने अर्थ यो होइन कि तपाईं नैतिक रूपमा पनि सुरक्षित हुनुहुन्छ । इतिहासले र जनताले तपाईंलाई जिम्मेवार ठहर गर्नेछन् ।’
सुदनले आफ्ना समर्थकलाई सचेत रहन आग्रह पनि गरेका छन् ।
‘यी बनावटी दाबीबाट भ्रमित नहुनुहोस् । सतर्क रहनुहोस्, एकताबद्ध रहनुहोस् । सुदन गुरुङ र हामी नेपाल सुरुदेखि नै जनताको पक्षमा उभिएका छौँ र सधैँ उभिनेछौँ । यो आन्दोलन जनताको हो, भ्रष्ट राजनीतिका लागि होइन ।’
महेशका क्रियाकलापलाई वक्तव्यमा फोहोरी खेल, निर्लज्ज प्रयास र जनताप्रतिको धोका भनेर आरोप लगाइएको छ ।
‘हामी महेश बस्नेतलाई अस्वीकार गर्छौं। उनले गर्ने प्रत्येक झुट, प्रत्येक प्रपञ्च, प्रत्येक भ्रामक दाबीलाई हामी अस्वीकार गर्छौं । हामी उनको राजनीति, उनका फोहोरी खेल र जनतालाई धोका दिन खोज्ने निर्लज्ज प्रयासलाई अस्वीकार गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
सुदनले आफू सधैँ यो आन्दोलन र जनताका पक्षमा रहने प्रतिबद्धता जनाउँदै राजनीतिक खेलमा सहभागी नहुने उल्लेख गरेका छन् ।
यसबीच सुदनले एमालेका पोलिटब्युरो सदस्य बस्नेतले आफूलाई पछ्याइरहेको आशंका गरेका थिए भने बस्नेतले चाहिँ उनी आफ्नो पार्टीमा आए अचम्म नमान्नु भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।