सर्लाही, ०६ असोज । आम जनता पार्टी (आजपा)ले संविधानमा १६ बुँदे संशोधन प्रस्ताव अघि सारेको छ ।

आजपाको काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष आजपाका अध्यक्ष प्रभु साहले आम जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नेसहितका १६ बुँदे संशोधन प्रस्ताव राखेका हुन् ।

जसलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतले पारित गरेको छ ।

‘प्रधानमन्त्री र मुख्यमन्त्रीको छनोट प्रत्यक्ष निर्वाचनद्वारा गर्नुपर्ने, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको छनोट पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, पालिकाको संख्या घटाउने र बजेट बढाउने’ आजपाको प्रस्ताव छ ।

आजपाले स्थानीय तहमा कानुन बनाउने र कर लगाउने अधिकार संविधानबाट हटाउनुपर्ने र स्थानीय तहको निर्वाचन निर्दलीय गर्नुपर्ने एजेन्डा अगाडि सारेको छ ।

दलीय सिण्डिकेटको विरोध गर्दै आएको आजपाले पार्टीलाई निर्वाचित संस्थाभन्दा माथि राख्ने प्रावधान खारेज गर्नुपर्ने माग समेत गरेको छ ।

संविधानमा रहेको विदेशीलाई नागरिकत्ता दिने प्रावधान अर्थात गैरआवासीय नागरिकत्ता खारेज गर्नुपर्ने, प्रदेशलाई पहिचान एवं अधिकार सम्पन्न बनाउनुपर्ने, शासकको समानुपातिक अधिकार खारेज गर्नुपर्ने, अनावश्यक संवैधानिक आयोगहरु खारेज गर्नुपर्ने, केन्द्रमा रहेका अनावश्यक संरचना खारेज गर्नुपर्ने माग आजपाले गरेको छ ।

नेपालका सम्पूर्ण भाषा र संस्कृतिलाई समान हैसियत कायम गर्नुपर्ने, भ्रष्टाचारीमाथि जनताको निगरानीको प्रावधान राख्ने, राइट टु रिकलको प्रावधान राख्नुपर्ने र न्यायालयलाई स्वतन्त्र, पारदर्शी एवं जनउत्तरदायी बनाउने काम गर्नुपर्ने माग आजपाले अगाडि सारेको छ ।

सरकारपिच्छेको कर आतंक र मनोमानी करको विरोध गर्दै आएको आजपाले जीडीपीको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने व्यवस्था गर्नुपर्ने र देशको पुँजी विदेशमा लैजान रोक लगाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *