सर्लाही, ०६ असोज । प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभा सक्रिय हुन खोजेको छ । राष्ट्रिय सभाको अधिवेशनसमेत सरकारले अन्त्य गरेपछि सांसदहरू संसदीय विषयगत समितिमार्फत सक्रिय हुन खोजेका छन् । यसका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहालले नै सक्रियता देखाएका छन् ।

अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक राखे । जहाँ राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरू, राष्ट्रिय सभा सचिवलगायतको सहभागिता रहेको थियो ।

बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाका विषयमा छलफल भएको समिति सचिवालयले जनाएको छ । यसअघि अध्यक्ष दाहालले असोज २ गते संसदीय विषयगत समितिका सभापतिहरूसँग छलफल गरेका थिए ।

आइतबार पुन: अध्यक्ष दाहालले प्रतिनिधि सभा नरहेको अवस्थामा राष्ट्रिय सभाको भूमिका के कस्तो हुन सक्छ भनेर छलफल गरेका हुन् ।

आइतबार नै राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिको बैठक बसेको थियो । ती समितिको बैठकमा समेत बदलिएको परिस्थितिमा राष्ट्रिय सभाको विषयगत समिति र राष्ट्रिय सभा सदस्यहरूको भूमिका के हुनसक्छन् भनेर छलफल भएका छन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक गत भदौ २३ गतेयता बस्न सकेको थिएन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि गत भदौ १९ गतेपछि बस्न सकेको थिएन । यी तीन वटै समितिको बैठक आइबार बसेको हो ।

दुई वटा समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे छलफल थियो भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘आगामी योजना तथा कार्यक्रम सम्बन्धमा’ छलफल थियो ।

कार्यसूची जे भएपनि आइतबारको तीन वटै समितिको बैठकमा भदौ २३ र २४ गते जेनजीको प्रदर्शन र उनीहरूले राखेका मागका विषयले प्राथमिकता पाए ।

गृहमन्त्री नै सुरक्षा सूचनाबाट बञ्जित !

भदौ २३ गते विकास, आर्थिक मामिला समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी छलफल थियो । जहाँ तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी उपस्थित थिए ।

आइतबार सोही समितिको बैठकमा समिति सदस्य राधेश्याम पासवानले भने, ‘भदौ २३ गते हामीले सरकारलाई सरकारलाई जनआक्रोश चुलियो छ, कुनै पनि बेला विस्फोट हुन्छ भनेर सचेत गराइरहेका थियौं । त्यही दिन दिउँसो १९ जना युवाले ज्यान गुमाए ।’

त्यसदिन गृहमन्त्री लेखक राष्ट्रिय सभा अन्तर्गतको समितिको बैठक सकाएर प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गएका थिए । गृहमन्त्री लेखक राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयकमाथिको दफावार छलफलमा सहभागी थिए । लेखक समितिमा रहेकै बेला प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संसद् भवनको पर्खाल चढिसकेका थिए । त्यसपछि लेखक समिति छाडेर हिँडेका थिए ।

तत्कालीन गृहमन्त्री लेखक भदौ २३ गते किन संसदीय समितिका बैठकहरूमा सक्रिय भइराखेका थिए ? उनलाई नै जेनजीको प्रदर्शनबारे पूर्वअनुमान थिएन कि ! यो कोणबाट आइतबार राष्ट्रिय सभा अन्तर्गतको विषयगत समितिमा छलफल चलेको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्मा भन्छन्, ‘हामी धेरै जना सूचनाबाट वञ्चित थियौं । तर, गृहमन्त्री नै सुरक्षा सूचनाबाट वञ्चित हुनुहुन्थ्यो भन्ने कुरा कसरी पत्याउने ? यो गम्भीर विषय छ ।’

तथापि, जेनजीका माग भ्रष्टाचारको अन्त्य र सुशासन रहेकाले यसतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उनले बताए । संसदीय समितिले पनि यही स्पिरिटमा आफ्नो कामकारबाही अगाडि बढाउनुपर्ने उनको प्रस्ताव छ । जसलाई समिति सदस्यहरूले स्वीकार गरेका छन् । सभापतिको प्रस्तावमा समर्थन जनाउँदै सांसदहरूले वर्तमान अवस्थामा राष्ट्रिय सभाको भूमिका के कसो हुन्छ भनेर विभिन्न विषय अगाडि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *