सर्लाही, ०६ असोज । गत शुक्रबार साँझ साढे ६ बजे मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिकै पहिरो झर्यो । त्यहाँ अकस्मात पहिरो खसेको थिएन ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अघिल्लो साता शनिबारदेखि नै सुक्खा पहिरो खस्न थालेको हो । त्यसपछि हरेक दिन पहिरो खस्ने र फाल्दै सडक सुचारु गर्ने काम जारी रह्यो ।
आइतबारदेखि शुक्रबारसम्म दर्जनौं पटक पहिरो खस्ने, सडक अवरुद्ध हुने र सडक सफा गर्दै यातायात चलाउने काम जारी रह्यो । सोही साता नेपालमा पुनः मनसुन सक्रिय भयो । त्यसअघि सुक्खा पहिरो झरिरहेको तुइन खोला नजिकै वर्षातले पहिरो झर्ने क्रम बढायो। अन्ततः राजधानीको लाइफलाइन तीन दिनसम्म ठप्प हुन पुग्यो ।
कार्यालयका अनुसार आइतबार सवा ४ बजेदेखि मुग्लिन–नारायणगढ सडक सुचारु भएको छ । यद्यपि, जोखिम कायम रहेकाले आज राति ९ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि आवागमन रोकिएको छ ।
यो राजमार्ग अवरुद्ध हुँदा सडकमा हजारौं यात्रु फसेका थिए । प्रहरी, स्थानीय समाजसेवी र स्थानीय प्रशासनको सहयोगमा शनिबार राति यात्रुलाई खाना बाँड्ने कामसमेत गरिएको थियो ।
तराई–मधेशलाई राजधानी र अर्को ठूलो सहर पोखरासँग जोड्ने उद्देश्यले निर्माण गरिएको मुग्लिन–नारायणगढ सडक बनेको साढे ४ दशक नाघेको छ । यसबीचमा अर्को विकल्पमा राज्यले काम गर्न नसक्दा १ सय ७० मिटर लामो पहिरोले हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार काठमाडौंलाई सहरका विभिन्न भेगसँग जोड्ने यो सडक नेपालको सबैभन्दा महत्त्वपूर्ण खण्डमा पर्छ । तर, यो खण्ड अवरुद्ध हुँदा के गर्ने भन्ने भरपर्दो विकल्प छैन ।
कालीगण्डकी करिडोर हुँदै गैँडाकोट–डेढगाउँ–भिमाद–मुग्लिन निस्कने एउटा विकल्प छ । तर, करिडोरको सडकको अवस्था समेत राम्रो नहुनु र दूरीसमेत लामो हुँदा ६ घण्टाभन्दा बढी समय लाग्ने गर्छ । सोहीकारण पछिल्ला दिनमा सडक खुलाउन सडक विभाग, सुरक्षा निकाय र अन्य सरोकारवालाले ठूलो दबाबमा काम गर्नुपरेको उनको अनुभव छ ।
२०३६ सालदेखि यात्रा भगवान् भरोसा
२०३६ सालमा पूर्व–पश्चिम राजमार्गलाई काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गसँग जोड्ने मुग्लिन–नारायणगढ खण्डको निर्माण गरिएको हो । सुरुमा यो सडक एक लेनको मात्र थियो । सडकमा बढ्दो यात्रु चापसँगै २०७२ सालमा आएर मात्र यो सडक विस्तारको काम थालियो ।
२०७५ सालमा आएर निर्माणको काम सकिएको थियो । त्यसपछि यो खण्ड पूर्णक्षमताको दुई लेन सडकमा विस्तार भयो । त्यसबेला सडकको काममात्र सकिएको थियो । पुल निर्माणको काम भने थप ५ वर्षभन्दा बढी समयसम्म लम्बियो ।
३३ किलोमिटर लम्बाइको यो खण्डले मुलुकको राजधानी काठमाडौं र मुख्य सहर पोखरालाई मुलुकका अधिकांश भागसँग जोडिरहेको छ । नेपालको कुल वैदेशिक व्यापारमध्ये स्थलमार्गबाट हुने व्यापारको ९० प्रतिशत हाराहारी व्यापार यसै मार्गबाट हुने गरेको छ ।

राजधानीलाई तराई–मधेश र पूर्वी नेपालसँग जोड्न अहिले बीपी राजमार्ग एक विकल्पका रूपमा रहेको छ । तर, यो राजमार्गका आफ्नै सीमितता छन् । गत वर्ष असोजको बाढीले तहसनहस भएको बीपीमा अहिले सहजै यात्रा गर्न सम्भव हुने गरी पुनर्निर्माण हुन सकेन ।
काठमाडौंबाट हेटौंडा जोड्ने सडक मार्गसमेत जीर्ण, साँघुरा र अधिकांश एक लेनका छन् । यो अवस्थामा सरकारले यो सडकको विकल्प तयार गर्न नसक्दा यात्रुले ठूलो सास्ती बेहोर्नुपरेको छ । काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुका लागि मुग्लिन–पोखरा विकल्प छ ।
तर, तराई–मधेशबाट आउने ठूला यात्रुवाहक सवारीसाधन र मालवाहक सवारीका लागि यो खण्ड नै एकमात्र विकल्प हो । प्रकृतिसँग जुध्दै यात्रा गर्नुपर्ने हुँदा यहाँ भगवान् भरोसामा सवारीसाधन गुडिरहेका छन् ।
विस्तार लगत्तै पहिरोको सास्ती
यो सडक खण्ड विस्तार भएलगत्तै हरेक वर्ष साना–ठूला पहिरोको सामना गर्दै यात्रा गर्नुपर्छ । जेठ २०७५ मा राजमार्ग पूर्णतया सुचारु गरिएको थियो । सोही वर्ष साउनमा मात्र ५ ठाउँमा ठूलो पहिरो जाँदा यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।
यो सडक विस्तारका क्रममा ३० भन्दा धेरै स्थानमा पहिरो नियन्त्रणको काम गरिएको थियो । तर, हरेक वर्ष नयाँ–नयाँ स्थानमा जाने पहिरोले सास्ती बढाइरहेको छ । तुइन खोला पुल निर्माणका दौरान ६० मिटर कडा चट्टान सहित डाँडो कटान गरिएको थियो ।

त्यसआसपास पहिरोले दुःख दिइरहेको छ । भदौ २०८० मा समेत नाम्सी पुल नजिकै गएको पहिरोले १८ घण्टासम्म यो राजमार्ग अवरुद्ध भएको थियो ।
द्रूतमार्ग निर्माणमा गति दिन नसक्दा नजिक छैन विकल्प
पूर्वी तराई–मधेशबाट हुने मालवस्तु ढुवानी र यात्रुवाहक सवारीसाधनको सहज यात्राका लागि काठमाडौं–निजगढ द्रूत मार्ग निर्माण क्रममा छ । चैत २०८३ भित्र सम्पन्न गर्ने गरी सुरु भएको राष्ट्रिय गौरवको यो आयोजनाको भौतिक प्रगति भर्खरै ४२ प्रतिशत टेकेको छ ।
यो आयोजनाको काठमाडौंतर्फको प्रवेश बिन्दु कहाँ बनाउने भन्ने समस्या अझै सुल्झिएको छैन । जसले गर्दा आयोजना सम्पन्न हुने मितिमै अन्योल छ । बीपी राजमार्गले साना सवारीको मात्र विकल्प दिने, मालवाहक सवारीका हकमा द्रुत मार्ग निर्माणको कछुवा गति र पश्चिम तराई र पहाडी भेगबाट आउने सवारीका हकमा एकमात्र राजमार्गको अर्को विकल्पमा अहिले छलफल समेत भएको छैन । त्यसकारण अझै कयौँ वर्ष यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने छ ।

सडक विभागका महानिर्देशक डा. जैसीका अनुसार अहिले स्थानीय तह र प्रदेश सरकारहरूले सोही खण्डको पारि विभिन्न स्थानमा ट्र्याक खोल्ने काम गरिरहेका छन् । विभागले त्यसलाई स्तरोन्नति गरी सडकका रूपमा विकास गर्न सकिने विकल्पबारे भने योजना बनाइरहेको छ ।