सर्लाही, ०७ असाेज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा संगीता मिश्रलाई अतिरिक्त सचिवबाट राजीनामा गर्न लगाई मन्त्री बनाउन सिफारिस गरिएकामा पछि षड्यन्त्रपूर्वक उनको नाम काटिएको दाबी गरेका छन् ।
गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अन्य ४ मन्त्रीसँगै स्वास्थ्यमन्त्रीका लागि डा संगीताको नाम पनि राष्ट्रपतिकहाँ पठाएकी थिइन् ।
तर उनीसँग जोडिएको नागरिकता र अनियमितता विवादमा आवाज उठेपछि शपथ खुवाउने दिन सोमबार उनको नाम हटाइएको थियो ।
तर निवर्तमान सांसदसमेत रहेका निधिले यसलाई प्रतिशोध र विभेदपूर्ण निर्णय भएको आरोप लगाएका हुन् । यस्तो षड्यन्त्र कसले गरेको भन्ने कुरा छताछुल्ल भएको दाबीसमेत निधिले गरेका छन् ।
तर त्यो को हो त भन्ने कुरा उनलेे खुलाएका छैनन् ।
निधिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिपरा महोत्तरी निवासी, वर्षौं जेलबसेका लोकप्रिय नेता स्व. रामचन्द्र मिश्रकी बुहारी हुन्- डा. संगीता मिश्र। वैवाहिक नेपाली नागरिक अतिरिक्त सचिवबाट राजिनामा गर्न लगाएर मन्त्रीको लागि नाम पठाएकोमा अचानक कसले षड्यन्त्र रची नाम कटाएको छताछुल्ल भएको छ। यो प्रतीशोध र विभेदपूर्ण दुष्कर्म हो ।’
मिश्र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् ।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव थिइन्। गत वर्ष फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् ।
मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।
उनको नाम काटिएपछि सोमबार अनिलकुमार सिन्हा (उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण), महावीर पुन (शिक्षा तथा विज्ञान प्रविधि), मदनप्रसाद परियार (कृषि तथा पशुपन्छी विकास) र जगदीश खरेल (सूचना तथा सञ्चार) ले मात्र शपथ खाएका छन् ।