सर्लाही, ०७ असाेज । जेन–जी आन्दोलनका क्रममा भएको आगलागी तथा तोडफोडबाट सर्लाहीमा ६३ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आन्दोलनकारीले सबैभन्दा बढी स्थानीय तहमा क्षति पुर्याएका छन् ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा गरिएको आगलागी तथा तोडफोडबाट ४७ करोड २० लाखको पूर्ण क्षति, १४ करोड ३० लाख बराबरको आंशिक क्षति तथा २ करोड ५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति भएको छ ।
सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीका ६ पालिकामा पूर्ण क्षति, दुई पालिकामा आंशिक क्षति र तीन पालिकामा सामान्य क्षति पुगेको साहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिकामा १२ करोड, लालबन्दी नगरपालिकामा १७ करोड, बरहथवा नगरपालिकामा १० करोड, हरिपुर नगरपालिकामा २ करोड ७५ लाख, हरिपुर्वा नगरपालिकामा २ करोड ४४ लाख र चन्द्रनगर गाउँपालिकामा तीन करोड १ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । यी पालिकाहरू पूर्ण रूपमा क्षति पुगेका हुन् ।
यस्तै हरिवन नगरपालिकामा १० करोड ४ लाख, बाग्मती नगरपालिकामा तीन करोड ७५ लाखको क्षति पुगेको छ । यी दुई पालिकामा आंशिक क्षति भएको हो । सामान्य क्षति पुगेको ब्रहम्पुरी गाउँपालिकामा १६ लाख, मलंगवा नगरपालिकामा ६ लाख र पर्सा गाउँपालिकामा १२ लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
प्रादेशिक कार्यालयतर्फ सामान्य क्षति पुगेको कृषि ज्ञान केन्द्र मलंगवामा १५ लाख, संघीय कार्यालयतर्फ आंशिक क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइमा ४८ लाख र हुलाक कार्यालय लालबन्दीमा तीन लाख बराबरको क्षति भएको छ ।
आन्दोलनको क्रममा नेपाल प्रहरीका विभिन्न युनिटहरुमा एक करोड ४५ लाख, सशस्त्र प्रहरी बलका विभिन्न चेक पोस्टमा ६ लाख र जिल्ला अदालत सर्लाहीमा पाँच लाखबराबरको क्षति पुगेको छ ।
आन्दोलनको क्रममा निजी सम्पत्तिमा भएको क्षतिको विवरण संकलनको काम भने भइ नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनीमा संलग्नको पहिचान भइरहेको बताउँदै कारबाहीको दायरामा ल्याउने जानकारी दिए ।