सर्लाही, ०७ असाेज । भदौ २४ गते काठमाडौंको टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रदर्शनकारीहरूले बारम्बार आक्रमण गरेका थिए।

आयोगका एक उच्च अधिकारीका अनुसार त्यस दिन कार्यालयमा करिब १५ जना कर्मचारी र बाँकी प्रहरीहरूसहित ५० जना जति थिए ।

प्रदर्शनकारीहरूका फरक फरक समूह दिउँसैदेखि बारम्बार आयोग पुगेर नाराबाजी गरिरहेका थिए । आक्रोशित भिडलाई कर्मचारी र प्रहरीले सम्झाइबुझाइ गरेर पठाइरहेका थिए ।

‘हामीले पाँच वटा जति समूहलाई सम्झाएरै फिर्ता पठायौं,’ ती अधिकारीले भने, ‘उनीहरूले अलि अलि तोडफोड गरे पनि खास धेरै क्षति गरेनन् । पछि आएको भिड भने उग्र रहेछ, थाम्न सकिएन ।’

अपराह्न साढे पाँच बजेतिर आयोग पुगेको समूह उदण्ड थियो। त्यही समूहले पहिले अन्धाधुन्ध तोडफोड सुरू गर्‍यो । आयोगका कर्मचारीले जति सम्झाउँदा पनि मानेनन् ।

‘उनीहरू भाटभटेनी लुटेर, आगजनी गरेर, रक्सी खाएर आएका थिए। खुकुरी, खुँडा जस्ता हतियार पनि बोकेका थिए। हामी कसैको कुरै सुन्दैनौं, गाडी जलाउँछौं भन्न थाले,’ ती अधिकारीले भने, ‘त्यसपछि त हाम्रो केही लागेन ।’

सुरक्षा चुनौती भएपछि कर्मचारीहरू कार्यालयका कोठामै बसे ।

पछि प्रदर्शनकारीहरूले गाडीहरू जलाए ।

उनीहरू यतिमै रोकिएनन् । कार्यालयमै आए र प्रशासनसहित दुई–तीन वटा महाशाखामा आगजनी गरे । पुस्तकहरू जलाए।

आयोगका कमर्चारीहरूले यहाँ पनि रोक्न र सम्झाउन खोजे। उनीहरूले कसैगरी मानेनन् ।

साँझ ६ बजेतिर अलि अँध्यारो भयो। सुरक्षाका लागि आयोगले नै बत्ती काटिदिएको थियो ।

त्यसपछि आएको अर्को समूहका प्रदर्शनकारीहरूको ध्याउन्न भने चोरी गर्नमा मात्र थियो ।

उनीहरूले कम्प्युटरको सिपियू फोडेर, त्यहाँबाट थुतेर हार्डडिस्क निकाले। खोजी खोजी कसैले भ्रष्टाचार मुद्दाका फाइल र रेकर्डहरू लगे । डिजिटल फरेन्सिकको काम गर्ने उपकरण लगे। ल्यापटपहरू पनि लगे ।

‘क-कसको रेकर्ड छ, कहाँ कहाँ छ भन्ने खोजेजस्ता थिए। त्यही अनुसार परिचालन भएजस्ता देखिन्थे,’ आयोगका ती अधिकारीले त्यस दिनको घटना व्याख्या गरे, ‘विभिन्न खालका समूह थिए जस्तो लाग्छ। जेन–जीका नाममा आफ्नो स्वार्थअनुसार आएका जस्ता थिए।’

​उनका अनुसार आयोग​को टंगाल कार्यालयमा ७४ वटा मोटरसाइकल, १७ वटा गाडी र दुइटा बसमा आगजनी भएको छ। त्यस्तै धेरै कागजात जलाइएको छ।

इटहरीको ५० प्रतिशत कागजात र सबै गाडी जलाएका छन् । हे​टौंडा शाखाका ७५ प्रतिशत कागजात र सबै गाडीमा आगजनी भयो । पोखराको सय प्रतिशत कागज र गाडी जलेका छन् भने बुटवल शाखामा २५ प्रतिशत कागजात र सबै गाडी जलाए​का छन् ।

​काठमाडौंको डिजिटल रेकर्डहरू धेरैजसो जोगिएकाले अहिलेसम्म करिब करिब सबै समेटिएको पनि उनले बताए ।

​’जिल्लाको रेकर्डमा केही समस्या भए पनि यहाँ पर्दैन । अब काम सुरू भइहाल्छ,’ ती अधिकारीले भने ।

उनका अनुसार अहिलेसम्म पाँच–सात वटा ल्यापटप र डिजिटल फरेन्सिक उपकरण भने फिर्ता आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *