सर्लाही, ०७ असाेज । पर्साको वीरगञ्ज महानगरपालिका वरपर फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् । पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हिजोसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा दुई सय ४० जनामा संक्रमण भेटिएको जानकारी दिनुभयो । जसमध्ये दुई सय ३६ जना हैजाका बिरामी उपचारपछि निको भइसकेका छन् । अझै चार जनाको उपचार भैरहेको छ ।
महानगर आसपासमा हैजा देखिएपछि त्यहाँका २१ वटा अस्पतालमा शुरुवाती दिनदेखि असोज ६ गतेसम्म एक हजार पाँच सय १२ जना बिरामी हैजा तथा झाडापखालाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन् ।
भर्ना भएकामध्ये एक हजार चार सय ७९ जना उपचारपछि घर फर्किसकेका छन् ।