सर्लाही, १० असाेज । भारतको जोगवनी बजारमा उत्पन्न तनावका कारण साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकामा कडाइ गरिएको छ ।

तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । शुक्रबार बिहानदेखि दुई समुदाय बीचको विवाद चर्किएपछि जोगवनीमा झडप भएको जानकारी आएकाले सीमा नाका बन्द गर्नु परेको उनको भनाइ छ ।

नेपाली सुरक्षाकर्मीले प्राप्त गरेको जानकारी अनुसार सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिएको भन्दै सुरुमा मुस्लिम समुदाय विरोधमा उत्रिएको थियो । सोही क्रममा बजरंग दलका युवाहरू पनि विरोधमा सहभागी भएपछि मुस्लिम र हिन्दू समुदायबीच दोहोरो झडप भएको बताइएको छ ।

झडपपछि जोगवनीको वातावरण तनावग्रस्त बनेको छ। लाट्ठी र भालासहित दुवै समुदाय सडकमा उत्रिएपछि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको र केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ ।

परिस्थिति नियन्त्रण बाहिर जाने खतरा बढेसँगै भारतीय अधिकारीहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । तनाव बढेसँगै विराटनगरको रानी नाकाबाट नेपालीहरुलाई जोगवनी प्रवेश गर्न दिइएको छैन ।

किनमेलका लागि गएका सयौं नेपालीहरू भाग्दै नेपाल फर्किएका छन् । जोगवनीतर्फ जान लागेकाहरुलाई रानी नाकामै रोकिएको छ। विराटनगरको रानी नाकामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको छ ।

सुरक्षाकर्मीले नेपाली नागरिकलाई जोगवनी प्रवेश गर्न रोक लगाएका छन् । प्रजिअ यादवका अनुसार अहिले जोगवनीतर्फ जाने आवतजावत पूर्णरुपमा रोकिएको छ ।  ‘स्थिति साम्य भएपछि मात्र नाका खोलिन्छ,’ उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *